काठमाडौं– देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई आन्तरिकमा घटुवा गर्ने प्रस्ताव संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अस्वीकृत गरेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको अध्ययन उपसमितिले त्रिभुवन विमानस्थललाई घटुवा गरी आन्तरिक मात्रै बनाउने प्रस्ताव गरेको थियो । तर, राजधानीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने भन्दै समितिले उक्त प्रस्ताव पारित गरेन ।
पर्यटन तथा नागरिक उड्डयन सम्बन्धी अध्ययन तथा अनुगमन गर्न समितिले माधव नेपालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले बुधबार समितिमा प्रतिवेदन बुझाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घटुवा गरेर आन्तरिक (डोमेस्टिक) उडान मात्रै गराउन सुझाब दिएको थियो ।
हाल निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि उपयुक्त भएको नेपाल संयोजकत्वको उपसमितिको निष्कर्ष थियो । यद्यपि, निजगढ विमानस्थल निर्माणअघि नै अनेक विवादमा मुछिएको छ ।
त्रिभुवन विमानस्थलमा पर्याप्त जग्गा नभएको, रन वे पनि एउटा मात्रै भएका कारण यसलाई आन्तरिक विमानस्थल मात्रै बनाउनुपर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका उपसमिति संयोजक नेपालको तर्क थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।