भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा आज बंगलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
फाइनलमा स्थान बनाउन नेपालले आज बंलादेशविरुद्ध फराकिलो जित निकाल्नुपर्ने हुन्छ । नेपाललाई प्रतियोगितामा उकृष्ट प्रदर्शन गरिरहेको टोलीविरुद्ध जित निकाल्न त्यति सहज छैन ।
यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको नेपालले भारतसँग ८–० को फराकिलो हार बेहोर्यो । जसकारण फाइनल पुग्न आज नेपालले बंगलादेशलाई फराकिलो गोल अन्तरले हराउनुपर्ने समीकरण बनेको हो । नेपालसँग बराबरी वा झिनो अन्तरको हारले पनि बंगलादेशले फाइनलको टिकट काट्नेछ ।
यसअघि उसले श्रीलंकालाई १–०, भारतलाई २–१ र माल्दिभ्सलाई ४–१ ले हराएको थियो । हालसम्म उमेर समूहको साफमा नेपाल र बंगलादेशबीच दुईपटक भेट भएको छ । जसमा नेपालले दुवै खेलमा बंगलादेशलाई हराएको छ । सन् २०१५ मा साफ यू–१९ मा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
सन् २०१८ मा पनि नेपालले साफको उपाधि जित्न सफल भयो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन गरिएको सो प्रतियोगितामा पनि नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थानमा रहँदै विजेता बनेको थियो । बंगलादेश पछिल्लो दुई संस्करणको साफको उपविजेता टोली हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।