मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका प्राधानाध्यापक १ हजार रुपैयाँ धरौटी तिरेपछि मात्रै घर फर्किन पाएका छन् ।
जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर विद्यार्थीहरूले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टि भएपछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।
प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई विद्यालयमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अबदेखि विद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।