धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँभयो : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् । मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे । उनले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए ।  

‘यहाँ तथ्यांक प्रस्तुत भइसकेको छ, स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा धेरै देखियो । बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या वागमती प्रदेशमा देखियो । विकास निर्माणको अग्रसरतामा सबैभन्दा पछि देखिने कर्णाली यहाँ अघि देखियो । कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ,’ मन्त्री खापुङले भने, ‘बागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू होलान् । यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ । यो क्रम जहाँ कम भएको छ, त्यहाँ बुझाएर सम्भव हुन्छ जस्तो लाग्दैन, त्यसको कारण के हो ? कारण पत्ता लगाएर जान आवश्यक छ ।’

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताए । मन्त्री खापुङले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।  ‘मिल्क बैंकको स्थापना सातै प्रदेशमा गर्ने उद्देश्य छ, यसलाई सबै मिलेर सफल पारौँ । औषधि निःशुल्क रुपमा पाइन भन्ने कुरा छ, यो के कारणले पाइएन तत्काल यसको खोजी गर्नुपर्छ र औषधिजस्तो कुरालाई निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले जे घोषणा गरेको त्यसलाई कार्यान्वयन गर्ने कुरामा कतै कमी कमजोरी रहेको भए यसको कारण खोजी गरेर तत्काल निराकरणको बाटो अघि बढ्नुपर्छ,’ मन्त्री खापुङले भने ।
 
उनले कोरोना संक्रमण बढिरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र आम नागरिकले थप सावधानी अपनाउन पनि आग्रह गरे । उनले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ११:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया