आत्महत्यापछि हत्याको ग्राफ निरन्तर उकालो, दैनिक १९ जनाले गर्छन् आत्महत्या

सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा एक घरमा विभत्स हत्या भयो । पदमसालको एकतले घरमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र आठ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका थिए । दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्मे र दिनेश अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिए ।  

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । उनीहरूको शव विभत्स अवस्थामा फेला परेको उनले बताए । 

काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने देखाएको जानकारी दिए । यद्यपि, पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै घटना कसरी भयो भन्ने यकिन हुने उनले बताए । काठमाडौं प्रहरी प्रवक्ता मैनालीका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

०००

८ साउनमा राति भरतपुर–१० रमाइलोचोकस्थित आचार्य निवासमा घरको तीन तलामाथि रहेको बैठक कोठामा ३५ वर्षीया रुष्मा आचार्य मृत भेटिइन् । श्रीमतीलाई खुकुरी प्रहार गरी तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भयो । तेस्रो तलाबाट हाम फाल्दा सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेका कृष्णप्रसादलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उनको पनि अस्पतालले राति ११ बजे मृत घोषणा गर्यो ।  

कृष्ण ६ वर्षको दुबई बसाइपछि गत जेठ महिनामा घर फर्किएका थिए । अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध रहेको शंका गरेका कृष्णले आउनेबित्तिकै ज्यानै लिनेसम्मको प्रयास गरेपछि २ असारमा रुष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसासम्बन्धी निवेदन लिएर पुगिन् । ३ असारमा प्रहरीले महिला सेलमा छलफल गरायो । त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि १७ असारमा दोस्रोपटक पुनः बोलायो । 



रुष्माले यसपटक आफ्नो माइती पक्षको बुबा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले ३१ असारका लागि पुनः बोलायो । त्यसदिन प्रहरीमा सहमति भयो । दुवैजनाले सहमति कागजमा समेत हस्ताक्षर गरेका छन् । सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनीहरू आइतबार संसारबाटै बिदा भए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको छ ।



०००

गत वर्षको २३ असोजमा धनुषाको नगराइनकी एक महिलाले दसैंको मुखमा दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरिन् । धनुषाको नगराइन नगरपालिका–४ लगकी गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी थिइन् ।

श्रीमान् घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । तर, माइती पक्षले विवाह हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ । माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरूको हत्यापछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।  

०००

२३ पुष २०७८ कपनमा एक लिभिङ टुगेदरमा रहेको जोडी एउटै कोठामा मृत भेटिए । संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी २२ वर्षिया युसिना राई अनलाइन गेम पब्जीमा भेट भएपछि माया प्रेममा थिए । यसैक्रममा उनीहरू तीन सातायता लिभिङ टुगेदरमा थिए ।

२३ पुसको राति खाना खाएर उनीहरू आफ्नो कोठामा गए । मध्यरात १ बजे कोठाभित्र चिच्याएको आवाज आयो । डाङडुङ गरेकोसमेत आवाज आएपछि अगाडि कोठामा बसेकी अनिशको निद्रा खुल्यो । के भएछ भनेर ढोकामा गएर उनले खोल्ने प्रयास गरिन् तर ढोका भित्रबाट चुकुल लगाइएको थियो ।

भित्र युसिना चिच्याएको आवाज आइरहेपछि अनिशको आमा र घरबेटी ढोकाको लक फुटाएर कोठामा छिरे । ढोका खोलेर हेर्दा युसिना खाटमा र अनिश भुईँमा ढलेका भेटिए । युसिनाको छातीमा छुरी रोपिएको चोटैचोट थिए । अनिशले प्रेमिकाको हत्या गरेर आफूले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख चन्द्र कुवेर खापुङले बताए । 

०००

२०७७ माघमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा एक दम्पती मृत भेटिए । उनीहरूसँगै घटनास्थलमा भेटियो विषादीको बट्टा । उनीहरू थिए राजविराजका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीया निर्मला पोखरेल ।

घटनास्थलमा प्रहरी पुग्दा भित्रबाट ढोकामा चुकुल लगाइएको थियो । पाँच महिनाअघि मात्रै बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरू चाँगागलीमा डेरा गरी बस्थे । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूले आत्महत्या गरेको हुनसक्ने बतायो ।

०००

गत वर्षको २५ पुसमा टोखामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी पनि मृत अवस्थामै फेला परे । टोखास्थित ग्रीन भिल्ला कोलोनीमा उनीहरूलाई प्रहरीले मृत फेला पारेको हो । घटनास्थलमा प्रहरी पुग्दा उमेशको शव ओछयानमा पल्टिरहेको थियो भने पत्नी सुदीक्षा झुण्डिरहेको अवस्थामा फेला परेकी थिइन् ।

घटनास्थल नजिकै रगत लतपतिएको सिलौटो बरामद भयो । त्यही सिलौटा प्रहार गरी उमेशको हत्या भएको हुनसक्ने अनुसन्धानले देखायो । उमेश अमेरिका बस्थे । तीन महिनाअघि मात्रै नेपाल आएका उनी फेरि अमेरिका फर्किने तयारीमा थिए ।

उमेशको मृत्यु भएको अर्को दिन मात्रै सुदीक्षाले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखायो । अनुसन्धानमा सुदीक्षाले श्रीमानको हत्या गरी आत्महत्या गरेको देखियो । उनीहरूले ६ वर्षअघि प्रेम विवाह गरेका थिए । रिपोर्टअनुसार सुदीक्षा दुई महिनाकी गर्भवतीसमेत थिइन् । यसै विषयमा उनीहरूबीच झगडा भएको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको थियो ।

०००

केही महिनाअघि मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित एक घरमा तीनजना मृत फेला परे । मृत भेटिनेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी थिए । उनीहरूसँगै घरमा पालेको कुकुर पनि मृत फेला परेको थियो । 

प्रहरीले घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परको थियो । मृतक सुदीपका भाइ सुनिल दाजुको घरमा मासु पुर्‍याउन जाँदा दाजुको सबै परिवार मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए  ।

सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आत्महत्या गरेको अनुसन्धानमा खुलेको थियो । किनभने सम्झना र सुशान्तलाई धारिलो हतियारको प्रहार गरिएको थियो । प्रहरीले तीनवटै शव हेर्दा एकै दिन मृत्यु नभएको निष्कर्ष निकालेको थियो । 

सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको थियो । सम्झना र सुशान्तको टाउकोमा गहिरो चोट थियो । शवसँगै धारिलो हतियार भेटिएको थियो । 

नेपालमा हत्यापछि आत्महत्या भएका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन् । माथिका घटनाले पनि हत्यापछि आत्महत्याका घटना कसरी बढ्दै गएको छ भन्ने स्पष्ट पार्छ । हत्यापछि आत्महत्या भएका घटना बर्सेनि कति हुन्छन् कुनै निकायसँग एकिन तथ्यांक छैन । आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ को ५ वर्षको विवरणमा हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ । 

प्रहरीको ५ वर्षको तथ्यांकमा विष सेवन, आगोमा जलेर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियार तथा औजार प्रयोग गरेर तथा नदी खोला तथा पोखरीमा हाम फालेर आत्महत्या गर्नेको संख्या बढेको उल्लेख छ । त्यसमध्ये झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ९८ प्रतिशतभन्दा बढी देखिन्छ । 

पछिल्लो ५ वर्षमा मात्रै आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या ३१ हजार २ सय २१ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ३ सय १७ जनाको आत्महत्याबाट ज्यान गएकोमा आव २०७५/७६ मा करिब साढे ४ सय बढी अर्थात् ५ हजार ७ सय ५४ ले ज्यान गुमाएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा आत्महत्याको संख्या बढेर ६ हजार २ सय ४१ पुगेकामा आव २०७७/७८ मा ७ हजार १ सय १७ र आव २०७८/७९ मा ६ हजार ७ सय ९२ जनाको आत्महत्याबाट मृत्यु भएको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ७ सय ९२ जनाको आत्महत्याबाट मृत्यु भएको तथ्यांक छ । जुन तथ्यांकलाई आधार मान्ने हो भने  दैनिक औसत १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । 

के भन्छन् मनोचिकित्सक तथा समाजशास्त्री?

त्रिवि शिक्षण अस्पताल काठमाडौंका नशा तथा मानसिक रोग विशेषज्ञ डा. बिक्रम काफ्लेका अनुसार आत्महत्या प्रयास गर्ने मानिसहरूका आफ्नै विभिन्न कारण हुन्छन् । कतिपय मानिसहरू मानसिक समस्याबाट गुज्रिरहेका हुन्छन् । त्यसको प्रमुख कारण– उदासिनता (डिप्रेसन) पनि हो । 

त्यस्तै, रक्सी तथा लागुऔषधको प्रयोग, कडा किसिमको मानसिक रोग (स्चिजफ्रेनिया, बाइपोलर डिसअर्डर), चिन्ता (एंग्जायटी), र बानी व्यहोरा (पर्सनालिटी डिसअर्डर) पनि मानसिक रोगका कारण हुन् ।  

समाजशास्त्री डा. मीना उप्रेती पारिवारिक व्यवस्थापनमा समस्या आएपछि यस्ता घटना घट्ने बताउँछिन् । ‘पहिला परिवारमा पुँजीवाद भित्रिएको थिएन,’ उनी भन्छिन्, ‘कृषिमा आधारित जीवनशैली थियो । संयुक्त परिवार थियो । एकले अर्कालाई आड, भरोसा, सहयोग गर्थे । तर, विस्तारै पैसाले परिवारलाई तहसनहस गर्दैछ ।’ 

परिवारको इच्छा, चाहना र आवश्यकता बढेर यो समस्या आएको उनी बताउँछिन् । ‘पैसा कमाउने चक्करमा शारीरिक र मानसिक तनावका कारण परिवार धराशायी बन्दै गइरहेको छ,’ उप्रेतीले भनिन् । उनका अनुसार यस्ता केसमा कसैले मिलेमतोमै ज्यान फ्याँक्छन् । कसैले भने हत्यापछि आत्महत्या गर्छन् । 

सामाजिक संरचनामा आएको परिवर्तनले पारिवारिक संरचनामा प्रभाव परेको समाजशास्त्री उप्रेती बताउँछिन् । ‘पहिलाको समाज पुरुषमा आश्रित थियो,’ उनले भनिन्, ‘तर, अहिले महिलाहरू पनि आत्मनिर्भर हुन थालेका छन् । जसकारण महिलाले भनेको कुरा पुरुषलाई पुरुषले भनेको कुरालाई चित्त नबुझेर पनि सम्बन्धमा दरार आउन थालेका छन्, हत्या हिंसा हुन थालेका छन् ।’

  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १२:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया