पछिल्लो समय म्यानचेस्टर सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यसले इंग्लिस फुटबल माथिल्लो स्तरमा पुगेको आभास दिलाउँछ । यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के हो भने यसबीच दुई क्लबबीचको टक्करले अन्य प्रतिस्पर्धीसँगको दूरी भने बढाइरहेको छ ।
पछिल्लो पाँच सिजनमा पेप ग्वार्डिओलाको सिटीले चार तथा योर्गन क्लोपको लिभरपुलले एक प्रिमियर लिग उपाधि जितेका छन् । सबैको अनुमान छ, सन् २०२२/२०२३ को इंग्लिस प्रिमियर लिग सिजनको कथा पनि यही हुनेछ । उही सिटीविरुद्ध लिभरपुल ।
सिटीले इर्लिङ हालान्ड अनुबन्ध गरेको छ भने लिभरपुलले डार्विन नुनेज । दुवै विश्वस्तरीय खेलाडी हुन्, उनीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनले पूरा लिगमै प्रभाव पार्न सक्छन् । भर्खरै कम्युनिटी सिल्ड उपाधिको पनि छिनोफानो भइसकेको छ, त्यसमा लिभरपुल सिटीमाथि ३–१ ले विजयी रह्यो । यहाँनिर मुख्य प्रश्न हो, यी दुई टोलीलाई लिगमा कसले चुनौती दिन्छ त? यहाँ केही टोलीको चर्चा गरिएको छ ।
चेल्सी
चेल्सीलाई नै त्यस्तो पहिलो टोली मान्न सकिन्छ, जसले सिटी र लिभरपुलको बाटो छेक्न सक्छ । गत सिजन उ तेस्रो स्थानमा थियो । यसैबीच चेल्सी आफैं धेरै परिवर्तनबाट गुज्रेको छ । रुसी मालिक रोमन अब्रामोभिच बाहिरिएका छन भने उनको स्थान अमेरिकी मालिक टड बोहलीले लिएका छन् ।
के यी नयाँ मालिकले अब्रामोभिच शैलीको कुनै छनकसम्म पनि दिन सक्छन् त? चेल्सीको अबको सिजनका लागि गरेको सबैभन्दा ठूलो अनुबन्ध भनेको सिटीबाट किनेको रहिम स्टर्लिङ हुन् ।
रोमेलु लुकाकु फेरि इन्टर फर्किनु केही अर्थमा चेल्सीका लागि धक्का पनि हुन सक्छ । प्रशिक्षक थोमस टुचेलमाथि क्लब सम्हानुको ठूलै दबाब छ ।
टोटनहम
गत सिजन टोटनहमले निकै कमजोर सुरुवात गरेको थियो । तर, एन्टोनियो कोन्टे प्रशिक्षक बने आएयता क्लबलले राम्रो खेल्न थाल्यो । त्यसको परिणमस्वरुप धेरैको अनुमान विपरित टोटनहम लिगको चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो ।
त्यस अर्थमा अबका सिजनमा पनि टोटनहमका लागि सबैभन्दा मुख्य पात्र कोन्टे नै हुनेछन्, उनले आफ्ना खेलाडीलाई कसरी खेलाउने हो, त्यो महत्वपूर्ण हुनेछ । टोटनहमले एभरटनबाट रिचार्लिसन किनेको छ, तर उनले पनि नियमित खेल्ने टुंगो छैन । यसले देखाउँछ, टोटनहमको आफैमा कति बलियो छ, तर समस्या हो, यही टोलीले कसरी खेल्छ?
आर्सनल
अबको सिजन कुनै एक टोलीबाट धेरै आश गर्न सकिन्छ भने त्यो आर्सनल नै हो । धेरैलाई लागिरहेको छ, इंग्लिस प्रिमियर लिगको शीर्ष चार स्थानका लागि आर्सनल बलियो प्रत्यासी हो र उसले सिटी तथा लिभरपुललाई बलियो चुनौती दिन सक्छ ।
गत सिजन आर्सनल चौथो स्थानको निकै नजिक पुगेर पनि त्यसबाट टाढा रह्यो, जुन आफैमा पीडादायी थियो । त्यसैले आर्सनलको सबैभन्दा ठूलो लक्ष्य फेरि च्याम्पियन्स लिगमा फर्कनु नै हुनेछ र त्यसपछि मात्र उसले बाँकी कुराबारे सोच्न सक्छ ।
प्रशिक्षक मिखेल आर्टेटाले गाब्रिएल जिसस जस्ता केही राम्रा अनुबन्ध पनि गरेका छन् । टोली युवा छ र त्यसमाथि आर्टेटाको विश्वास पनि, यसपटक आर्सनलबाट धेरै आश गर्न सकिन्छ ।
म्यानचेस्टर युनाइटेड
विश्वास गर्न गाह्रो छ, म्यानचेस्टर युनाइटेड जत्तिकै टोलीले इंग्लिस प्रिमियर लिग नजितेको १० वर्ष भइसक्यो । अहिले पनि म्यानचेस्टरमा के हुन्छ र हुन्न भन्न सकिन्न । अबको सिजनका लागि क्लबको दृष्टिकोणले सबैभन्दा ठूलो विशेषता हो, म्यानचेस्टरले नयाँ प्रशिक्षकका साथ खेल्दै खेल्दैछ र उनी हुन एरिक टेन हाग ।
म्यानचेस्टरको पुरानो साखलाई उकास्ने काम पनि अब यिनै डच प्रशिक्षकको हो । गत सिजन म्यानचेस्टर छैटौं स्थानमा रह्यो, जुन निकै खराव हो । भनिन्छ, म्यानचेस्टरको ‘ड्रेसिङ रुम’मा माहौल निकै खराव छ ।
अहिले पनि क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने इच्छा देखाइरहेका छन् । म्यानचेस्टरले केही राम्रा खेलाडी किनेको पनि छ, तर मुख्य प्रश्न त्यही हो, टेन हागले टोलीलाई कसरी अगाडि बढाउने छन् ? (बिबीसीबाट साभार)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।