नेपाल एयरलाइन्सको विमानबाट मुम्बई उड्न लागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मध्याह्न नेपाल एयरलाइन्सको विमानमार्फत भारतको मुम्बई जान लागेका पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त विमानमा आतंकवादी रहेको सूचनापछि प्रहरीले यात्रुलाई ओरालेर चेकजाँच गरेको थियो ।
कैलालीमा एक जना व्यक्तिविरुद्ध उजुरी परेपछि कैलाली प्रहरीले उक्त व्यक्ति मुम्बई जान लागेको सूचना काठमाडौं प्रहरीलाई दिएको थियो । सोहीअनुसार काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटेका प्रहरीलाई उक्त व्यक्तिलाई पक्राउ गर्न अनुरोध गरेको थियो ।
कैलाली प्रहरीमा एक जना व्यक्तिविरुद्ध उजुरी परेपछि उनी मुम्बई जान लागेको भन्दै कैलाली प्रहरीले काठमाडौं प्रहरीलाई खबर गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ती व्यक्ति सुन व्यापारी हुन् भन्ने प्रारम्भिक जानकारी आएको उनले बताए ।
‘एक जना पुरुषविरुद्ध उजुरी परेको रहेछ । उनी नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेको थाहा भएपछि कैलाली प्रहरीले काठमाडौं प्रहरीलाई जानकारी दिएअनुसार पक्राउ गरिएको छ । उनीसँग एक जना महिला पनि छन् । दुवैको थर लामिछाने भएकाले श्रीमान् श्रीमती हुन सक्छन् भन्ने अनुमान छ’ उनले भने, ‘पुरुष सुन व्यापारी हुन् भन्ने जानकारी प्राप्त भएको छ । आतंकवादी हुन् वा होइनन् भन्ने स्पष्ट भएन ।’
नेपाल एयरलाइन्सको न्यारोबडी ३२० विमान काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्दै थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।