मधेस सरकारको साइकल खरिद प्रकरण : विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
फरकधार / १८ साउन, २०७९
फाइल तस्वीर

मधेस प्रदेश सरकारले खरिद गरेको साइकल प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।



मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्नका लागि खरिद गरिएको साइकल प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।



मधेस प्रदेश सरकारले पहिलो चरणमा १० र अर्को चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो ।



१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई छोडेर ब्राण्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यसअघि अख्तियारको बर्दिबास कार्यालय प्रमुखले पहिलो चरणमा पनि भ्रष्टाचार भएको बताइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । 

उनले प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेको बताएका थिए ।

प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:२३:११,   अन्तिम अपडेट : साउन १८, २०७९ बुधबार १९:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया