साहित्यकार मोहनराज शर्मा (माेराश) को निधन

काठमाडौं– साहित्यकार तथा प्राध्यापक मोहनराज शर्मा (मोराश)को ८२ वर्षकाे उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ६ बजे कलंकीस्थित नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । शर्माको शव पशुपतिस्थित चिस्यानगृहमा राखिएको छ । उनका कान्छा छोरा अस्ट्रेलियाबाट आएपछि भोलि दाहसंस्कार गरिने पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

विसं. १९९४ कात्तिक २५ गते धर्मस्थली काठमाडौंमा जन्मिएका शर्माका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । २०१६ सालमा दीपक पत्रिकामा ‘एकको एक हात लाग्यो शून्य’ भन्ने हास्यव्यंग्य लेख प्रकाशित गरी साहित्ययात्रा सुरु गरेका हुन् ।

शर्माका ‘जेमन्त’, ‘यमा’, ‘बैकुण्ठ एक्सप्रेस’ ‘कोर्रा’, ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’, ‘नेपालीका केही आधुनिक साहित्यकार’, ‘कथाको विकासप्रक्रिया’, ‘मि. झप्पु सिंह डबल एमए’, ‘च्याँखेधर्ना’, ‘शैलीविज्ञान’, ‘शब्द रचना र वर्ण विन्यास’, ‘सलिजो’ र ‘पल्ली’ लगायतका कृति प्रकाशित छन्।

शर्माले ‘बैकुण्ठ एक्सप्रेस’ नाट्यकृतिका लागि मदन पुरस्कार प्राप्त गरेका  थिए । मदन पुरस्कार, साझा पुरस्कारका साथै उनले डेढ दर्जनभन्दा बढी पुरस्कार पनि प्राप्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय सेवा गरेर अवकाश भएका प्राध्यापक शर्मा पछिल्लो समय घरमै बसेर लेखन कार्यमा क्रियाशील थिए । साहित्य लेखनमा सुरु व्यंग्य लेख्न गरेका शर्मा पछिल्लो समय आख्यान विधामा कलम चलाउँदै थिए । आख्यानका  साथै उनले नाटक र निबन्ध विधामा ख्याति कमाएका थिए ।  

 






  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार ११:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया