रोल्पा– रोल्पामा स्वास्थ्य बिमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा गत मंसिर १ गतेसम्म १२ हजार ८ सय ८१ जनाले स्वास्थ्यबिमा गरेकोमा त्यो संख्या महिलाको बढी छ । जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बिमा गरेका छन् ।
स्वास्थ्य बिमा गर्ने पुरुषको संख्या पाँच हजार ७ सय ८३ रहेको छ । जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बिमा दर्ता सहजकर्ता तोकिएका कारण विमितको संख्या पनि महिला बढी भएका हुन् । जिल्लामा स्वास्थ्य बिमा गर्नेको कुल संख्या निकै कम देखिएको छ ।
दुई लाख ३४ हजार जनसंख्या रहेको रोल्पामा १२ हजार ८ सय ८२ ले मात्रै स्वास्थ्य बिमा गरेको बिमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन् । स्वास्थ्य बिमाजस्तो महत्वपूर्ण कार्यक्रमको प्रचारप्रसार हुन नसक्दा यसको विमित बढ्न नसकेको जिल्ला स्वास्थ्य प्रमुख डा. सुशील आचार्यको भनाइ छ ।
आफूहरूले अस्पताल आउने बिरामीसँग पनि परामर्श गर्ने गरेको डा. आचार्यको भनाइ छ । बिमाका लागि खट्ने कर्मचारी, स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको समन्वय भए स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने डा. आचार्यले बताए ।
स्वास्थ्य बिमालाई अन्य बिमाजस्तै गरेर बुझ्ने गरेको आफूले पाएको डा. आचार्यको भनाइ छ । जिल्लामा पुरुष वैदेशिक रोजगारीमा जाने भएका कारण पनि बिमा गर्ने पुरुषको संखया महिलाको तुलनामा कम भएको हुनसक्ने कार्यालय प्रमुख डा. आचार्यको बुझाइ छ ।
बिमाको महत्वबारे बुझाउन नसक्दा बिमा गर्नेको संख्या नबढेको हुनसक्ने महिला अगुवा तुलसा आचार्यको भनाइ छ । आफूले स्वास्थ्य बिमा गरे पनि बिरामी पर्दा औषधि नपाएको हुँदा बिमाप्रति विश्वास घटेको उनले बताइन् ।
सरकारले अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । जिल्लामा हाल एक हजार ७ सय ८४ अति गरिब बिमाको पहुँचमा आएको बताइएको छ । सरकारले रोल्पाका अति गरीबको बिमाबापत रु ४२ लाख ७७ हजार ४ सय ८५ भुक्तानी दिएको बताइएको छ । जिल्लामा एक हजार १ सय २८ घरधुरीको बिमाबापत ३१ लाख ७५ हजार जम्मा भएको बिमा बोर्डले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।