logo-img

कैलालीमा निर्माणाधिन झोलुंगे पुल बग्यो (भिडियाे)

कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर र शिवरत्नपुर जोड्न मोहना नदीमा तीन वर्षदेखि निर्माणाधिन झोलुंगे पुल बगेको छ ।
मोहना नदीमा आएको बाढीमा निर्माणाधिन अवस्थामा रहेको झोलुंगे पुल बगेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । 

‘झोलुंगे पुलका लागि चाहिने लट्ठा नभएर निर्माण पूरा हुन नसेकेको हो,’ उनले भने, ‘लट्ठा भएको भए यही वर्ष सञ्चालन हुन्थ्यो, तर मोहनाले आज बगाएर लग्यो ।’

वडा नम्बर ३ का स्थानीय सन्तराम चौधरी मोहनामा यो वर्ष ठूलो बाढी आएको बताए । उनले भने, ‘आज वारिको मान्छे पारि र पारिको मान्छे वारि जान नसक्ने गरी बाढी थियो । मोहनाले तीव्र कटानी गरेकोले झोलुंगे पुलको दक्षिणको पिल्लर लग्यो ।’ 

निर्माण सम्पन्न हुनेवाला रहेको तर लट्ठा नभएका कारण उक्त झोलुङे पुल सञ्चालनमा आउन नुकेको उनले बताए । शिवरत्नपुरका स्थानीय कमल चौधरी आफ्नोहरूको पुल चढ्ने सपना लडियाले बगाएको बताए ।
 
‘झोलुंगे पुल निर्माणमा ढिलाइ हुँदै थियो । तीन वर्षदेखि बन्दै गरेको पुल नबनेर शिवरत्नपुरवासी ढुंगामा जोखिम मोलर नदी पार गर्थे,’ उनले भने,  ‘पुलको दक्षिण पिल्लर बगेको छ । अब पुल चढ्ने आश छैन ।’ उनले भने, ‘अहिलेसम्म ढुंगाको भरमा नदी वारिपारि गर्ने अवस्था छ, वर्षाका बेला बिरामीको स्वास्थ्य उपचार, सुत्केरी गर्भवतीलाई खोप लगाउने र विद्यार्थीलाई विद्यालय जाने आउने समस्या छ ।’ 



शिवरत्नपुर बस्तीको १६ घरलाई बचाउनका लागि बनाइएको २० लाखको भौतिक र जैविक तटबन्ध यही असार महिनामा बगाएको थियो ।तटबन्ध बगेसँगै मोहना नदी बस्तीमा गएपछि शिवरन्तपुरका १६ घर विस्थापित भई त्रिपालमुनि बस्ने अवस्था आएको उनले बताए । 

शिवरत्नपुरका स्थानीय सन्तराम चौधरी मोहना नदी दिनदिनै खेतीयोग्य जमिन कटान गर्दै गरेको बताए । उनले भने, ‘गत वर्ष असोज–कार्तिक महिनामा आएको बाढी बस्तीमा आयो । भएको धानवाली बगायो, खेतीयोग्य जमिनलाई बालुवा भरेर मरुभूमि बनायो, अब कटान गरेर लग्दै छ ।’ 



फियान नेपालका सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द राना खेतीयोग्य जमिन बगेपछि त्यो बस्तीमा खाद्यान्नका समस्या आउने सक्ने बताउँछन् । 



  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया