एनएसीको विमानबाट पक्राउ परेका​ लामिछानेले पञ्जावमा चोरिएको सुन किनेका थिए : प्रहरी
सुन तथा गहना चोरी र बिक्री कार्यमा संलग्न अन्य तीन जना पनि पक्राउ
फरकधार / १९ साउन, २०७९

भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ ।



बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेर उनलाई पक्राउ गरेको थियो ।

लामिछानेको नाम भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको कैलाली प्रहरीले जानकारी दिएको छ । लामिछानेलाई बिहीबार कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



प्रहरी स्रोतका अनुसार लामिछानेसँगै भारतबाट सुन तथा गहना चोरी र बिक्री कार्यमा संलग्न अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ ।



यस्तै, थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्षसमेत रहेका लामिछानेलाई बिहीबार कैलाली पुगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए ।

यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत खटिएको थियो । प्रहरी स्रोतका अनुसार विगत डेढ महिनादेखि चोरी प्रकरणको अनुसन्धानमा प्रहरी टिम सक्रिय थिए ।

विशेष अनुसन्धान ब्यूरोको टोली पनि केही समयअघि कैलाली पुगेर फर्किएको थियो । प्रहरीले केही गरगहना र नगदसमेत बरामद गरेको छ । तर, अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

धनगढीका लामिछानेमाथि ठगीको कसुरमा पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १७:४०:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया