प्रमुख निर्वाचन आयुक्त थपलियाकाे प्रतिबद्धता : अर्जुनदृष्टि लगाएर काम गर्छाैं, स्थानीय निर्वाचनका त्रुटि सच्याउँछाैँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटि र कमजोरीलाई दोहोरिन नदिने गरी काम गरिने बताएका छन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ गतेको मिति तोकेलगत्तै बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा देखिएका कमीकमजोरी र त्रुटिलाई दोहोरिन नदिने गरी तयारी गरिरहेको बताएका हुन् । थपलियाले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको लागि आवश्यक समय कम भए पनि अर्जुनदृष्टि लगाएर काम गरिने बताए । 

मतदानस्थलहरुलाई सबैको पहुँचयोग्य बनाउने, मतदाता नामावलिलाई अध्यावधिक बनाउनेलगायत आन्तरिक  काम आयोगले गर्दै आएको पनि उनले जानकारी दिए । आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा भएका गल्ति कमजोरीलाई सच्याएर कुनै पनि किसिमको सवाल नउठ्ने गरी आयोगले काम गर्ने प्रमुख आयुक्त थपलियाको प्रतिबद्धता छ । 

निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधिलाई लिएर विभिन्न किसिमका टिप्पणी भइरहेका बेला आयोगले भने मंसिर २१ गतेसम्म पदावधि कायम रहने बताएको छ । प्रमुख आयुक्त थपलियाले पुनः उम्मेदवारी दिने सदस्यको हकमा उम्मेदवारी दिएपछि स्वतः पदावधि समाप्त हुने भए पनि अन्यको हकमा मंसिर २१ गतेसम्म पदावधि कायम रहनेछ भनी सरकारलाई दस्ताबेज बुझाएको जानकारी दिए । 

आइतबारदेखि नै राजनीतिक दल दर्ता प्रक्रिया प्रारम्भ गरिने र आगामी सातादेखि समानुपातिक तर्फको निर्वाचन प्रक्रियाका कार्य अघि बढाउने तयारी आयोगले गरेको छ । त्यसैगरी असोजको तेस्रो हप्तामा उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका बनाउने तयारी भइरहेको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिए । आयोगले स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनम बढीमा ९ लाख मतदाता संख्या थपिने अनुमान गरेको छ ।

निर्वाचनका लागि आवश्यक सवारीसाधनलगायत प्राविधिक क्षेत्रका लागि आवश्यक खर्च सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्रलाई अनुरोध गरिएको र प्राप्त भएको सवालमा सहयोग स्वीकार गर्ने पनि उनले स्पष्ट पारे । त्यसैगरी आमसञ्चारमाध्यमलाई मतदाता शिक्षा प्रचार प्रसारमा प्रयोग गर्ने सवालमा भने वैदेशिक सहायता नीतिअन्तर्गत रहेर दातृनिकायको सहयोग पनि स्वीकार गरिने उनले स्पष्ट पारे । 
 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया