रेल्वे पीडित संघर्ष समितिले नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाको विरोधमा प्रदर्शन गरेका छन् ।
नेपाल रेल्वे कम्पनीले निर्धारण गरिएको भन्दा ५ लाख रुपैयाँ मुआब्जा कम दिएको भन्दै उनीहरुले बिहीबार महाप्रबन्धक झाविरुद्ध प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम–जयनगर–बर्दिबास रेल्वे ट्रयाक विस्तारका क्रममा जग्गाको मुआब्जाबापत प्रतिव्यक्ति वितरण गरिने भनिएको १५ लाखमा ५ लाख रुपैयाँ कम दिएकोले आफूहरुले महाप्रबन्धकको विरोधमा प्रदर्शन गरेको संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए ।
रेल्वे विभागले पीडितलाई प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिएपनि पछि बैंक खातामा १० लाख रुपैयाँ मात्रै दिएर आफूहरुलाई ठगेको थापाको आरोप छ । थापाले महाप्रबन्धक झाले समस्या समाधानका लागि कुनै चासो नदिएको भन्दै उनको राजीनामा समेत माग गरिएको बताए ।
उनले बर्दिबासस्थित मुसहरबस्ती जाने बाटोका जग्गाहरुलाई अधिग्रहण गर्ने क्रममा विभागले १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि १० लाख रुपैयाँ मात्र दिएको आरोप लगाए ।
त्यस्तै रेल्वे पीडित निरज अधिकारीले विभागले गरेको प्राविधिक त्रुटीका कारण सरकारले निर्धारण गरेको मुआब्जा भन्दा आफूहरुले कम रकम पाएकाले सोको छानविन हुनुपर्ने माग गरेका छन् ।
विभागका साइट इञ्जिनीयर विनोद ओझाले प्राविधिक त्रुटीलाई यथाशिघ्र सच्याइने आश्वासन दिएका छन् ।
उनले सरकारले निर्धारण गरेको मुआब्जा वितरणमा भएको प्राविधिक त्रुटी सच्याएर बाँकी बक्यौताका लागि आफुहरुले पहल गर्ने बताए ।
करिब ४५ परिवार मध्ये २० परिवारले १५ लाख रुपैयाँको दरले मुआब्जा रकम पाइसकेका छन् भने २५ परिवार अन्यायमा परेको समितिको गुनासो छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।