धनुषा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गत मंगलबारयता तीन दिनभित्र उनीहरुलाई पक्राउ गरिएको हो ।
गत मंगलबार अपहरण तथा शरीर बन्धक मुद्दाका धनुषा सहिदनगर–३ यदुकुवाकी ६५ वर्षीया अमेरिकादेवी पासवानलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको छ । उनी ०७७ असार १८ गते मुद्दा दर्ता भई वारदातपश्चात फरार रहेकी उनलाई यदुकुवा बजारबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ ।
सोही दिन इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको टोलीले धनुषा क्षीरेश्वरनाथ–३ का ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाएको छ । सिंहलाई बिगो मुद्दामा ५३ हजार जरिवाना तोकिएको थियो ।
मंगलबारै अपहरण तथा शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी धनुषा धनौजी–४ का १९ वर्षीय रोहित मण्डल पनि पक्राउ परेका छन् । मण्डललाई निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।
सोही दिन प्रहरी परिसर जावलाखेल ललितपुरमा बैकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी जनकपुरधाम–२० रुपैठाका ३७ वर्षीय सञ्जयकुमार झालाई विशेष अनुसन्धान टोलीले निजकै घरबाट पक्राउ गररेको छ । झालाई आवश्यक कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।
त्यसैगरी प्रहरीले बिहीबार बिगो मुद्दामा ६ महिना कैद तोकिएका फरार प्रतिवादी जनकपुरधाम उपमहानगर–२१ का ५४ वर्षीय काशीकान्त झालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाएको छ । निजलाई जनकपुर उपमहानगरपालिका ८ स्थित आँखा अस्पताल नजिकबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।