प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै मधेस प्रदेशमा नेताहरु निर्वाचनको तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेताहरुले आफ्नो निर्वाचन क्षेत्रसहित नाम घोषणा गर्न थालेका हुन् ।
यसैबिच, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन केन्द्रित भएर बसेको जनमत पार्टीको केन्द्रीय कमिटीको बैठकमा राउतको उम्मेदवारीका विषयमा छलफल भएको छ । केन्द्रीय सदस्यहरूको आग्रहपछि आफू सप्तरी–२ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको अध्यक्ष राउतले बताए ।
आगामी निर्वाचनमा सुशासन, सेवा प्रवाह र सामाजिक मुद्दालाई लिएर चुनावमा सहभागी हुने उनको भनाइ छ । जनतालाई अनुभूति हुने गरी संघीयता र लोकतन्त्रको अभ्यास गर्न आफू चुनाव लड्न लागेको उनले बताए । अध्यक्ष राउतको घर पनि सप्तरी–२ मा पर्छ । उनी सप्तरीको महदेवा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् ।
स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका केही वडामा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय चुनावबाट सप्तरीमा जनमतको उपस्थित बलियो देखिएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर र बलानबिहुल गाउँपालिकाको अध्यक्षमा जनमतकै उम्मेदवार निर्वाचित भएका छन् ।
२०७५ फागुन २४ गते जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेपछि जनमत पार्टी तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीतिक गतिविधि अघि बढाउँदै आएको छ ।
सप्तरी–२ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष यादव २१ हजार ६२० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८० मत पाएका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत ल्याएका थिए ।
जसपा अध्यक्ष यादवको पनि फेरि सप्तरी–२ बाटै चुनाव लड्ने चाहना रहेको बताइएको छ । सोही अनुसारको उनले तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम समेत गरिरहेका छन् ।
२०६४ साल यता उनले पटक पटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा निर्वाचन सुनसरीबाट जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।