भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशन

वीरेन्द्रनगर नगरपालिका-१२ मा निर्माणधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् । 

हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब पाँच सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला १८ साउनमा ठेकेदार र प्राविधिकको लापरवाहीले भत्किएको हो ।

तर, अविरल वर्षाका नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ । नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।    

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नाला निरीक्षण गर्दै यथाशीघ्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न उनीहरूले निर्देशन दिएका हुन् ।

नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमीकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारकाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरीक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकोले नाला भत्किन पुगेको तर्क गरे । 

तर, निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्विकारेका छन् ।



आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टिमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबाबमा सडक लेवलमा (स्टिमेटभन्दा बाहिर गएर) नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।         

उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब एक करोड लागतमा विध्या एन्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो ।



गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्‍याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया