निर्वाचनका लागि दल दर्ता गर्दा के-के गर्नु पर्छ ?
फरकधार / २० साउन, २०७९
फाइल तस्वीर

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ ।



प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आयोगले आह्वान गरेको हो ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सक्ने छन् । दल दर्ताको निवेदनको ढाँचा आयोगको वेब–साइटबाट लिन सकिने आयोगले जनाएको छ ।



दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्नेछ ।



दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निवेदन दिनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

दल दर्ता प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने आयोगले जनाएको छ । सरकारले आगामी मङ्सिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार २१:१७:४५,   अन्तिम अपडेट : साउन २०, २०७९ शुक्रबार २१:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया