अलमुताइरीलाई रन्जीतको जवाफ: खेलाडी पलायन हुनुमा तपाईं पनि प्रमुख कारण

राष्ट्रिय फुटबलर रञ्जीत धिमालले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीप्रति कडा टिप्पणी गरेका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेपछि धिमालले फेसबुकबाटै त्यसको जवाफ दिएका हुन् ।

उनले प्रशिक्षकका कारण खेलाडीहरू शारीरिक रूपमा मात्र नभई मानिसक रूपमा पनि थकित भएको  बताएका छन् । आफूहरूले देशभित्र फुटबलका गतिविधि होस् भन्ने चाहना राखेको उल्लेख गर्दै त्यस्ता गतिविधि नहुँदा अहिले नयाँ खेलाडी पनि सुरक्षित भविष्य खोजीका लागि विदेशिन बाध्य भएको उनले लेखेका छन् ।

'पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन् । तर, तपाईंको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो । यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर, अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,' उनले लेखेका छन् ।

अलमुताइरीले नेपाल सुपर लिग (एनएसएल)को आयोजना रोक्न खोजेको आरोप समेत लगाएका छन् । उनले अलमुताइरीले झुट बोल्ने गरेको उल्लेख गर्दै एनएसएल रोक्न गरेका प्रयासबारे आफू जानकार रहेको बताएका छन् । एन्फाले एनएसएल गर्न दुई हप्ताका लागि प्रशिक्षण पछाडि सार्न अनुरोध गर्दा पनि अलमुताइरीले वास्ता नगरेको पनि उनले बताएका छन् ।

'तपाईं नेपालको फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ । वाह, तपाईंलाई लाज लाग्दैन ? तपाईं कति झुट बोल्न सक्नुहुन्छ ? एनएसएल रोक्न खोज्ने तपाईं नै होइन ? हामी सबैलाई यो घटना याद छ । जब एन्फाले एनएसएल गर्न चाहन्थ्यो । तपाईंलाई दुई हप्ताका लागि प्रशिक्षण योजना पछाडि सार्न अनुरोध गरिएको थियो । तर, तपाईंले सबै खेलाडीहरूलाई कोठामा बोलाएर  व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,' उनले त्यसअघि लेखेका छन् ।

धिमालले ​अलमुताइरीले खेलाडीलाई धम्क्याउने गरेको गम्भीर आरोप पनि लगाएका छन् । उनले मुख्य प्रशिक्षक अलमुताइरीको धम्की कारण एनएसएलका लागि आवाज उठान नसकेको समेत लेखेका छन् । सबै चुप बसेपछि सामाजिक सञ्जालमा पोस्ट लेख्दै ध्यान खिच्न एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो गरेर अलमुताइरीले नाटक गरेको उनको भनाइ छ ।



'खेलाडीलाई बोलाएर तिमीहरू एनएसएल खेल्न चाहन्छौ कि अलमुताइरीको टोलीबाट भनेर सोध्ने तपाईं नै होइन ? रन्जितले लेखेका छन्, 'सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन् । पछि आफैँ तपाईंले पोस्ट लेखेर जनताको ध्यान खिच्ने प्रयास गर्नुभयो । र, एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो नाटक गर्नुभयो ।'



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १६:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया