कांग्रेस एमाले ढाल्ने बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसको बिँड : ‌ओ‌ली
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई एमालेलाई ढाल्ने बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको संज्ञा दिएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति आक्रोश पोखेका हुन् । उनले बिँडबिनाको बन्चरोले रूख ढाल्न नसक्ने उल्लेख गर्दै एमाले रूपी रूख ढाल्न पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले बिँडको भूमिका खेलेको आरोप लगाएका हुन् ।

'कांग्रेसका बिँडचाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाहिँ कस्ता कस्ता छन् ? त्यही भनेर रूख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रूख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ' उनले भने ।

उनले कांग्रेसलाई २३ सिटमा खुम्च्याइ दिएको तर प्रचण्ड र नेपालले बिँडको भूमिका खेलेर कांग्रेस चम्किरहेको तर्क गरे । 'कांग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाऊँ, दक्षिणपन्थी सरकार ढालीपाऊँ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन्' उनले भने ।  

उनले आगामी निर्वाचनमा कांग्रेसको बिँड भएर कम्युनिस्ट सिध्याउनेतिर नलाग्न माओवादी केन्द्र एकीकृत समाजवादीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले एमाले कार्यकर्तालाई कम्युनिस्ट पार्टीलाई जोगाउन एकीकृत समाजवादीका नेता कार्यकर्तालाई सम्झाए पार्टीमा फर्काउन पनि निर्देशन दिए ।

'चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडीदिऊँ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ कांग्रेसका बिँड भएर कम्युनिस्ट सिध्याउने कि कम्युनिस्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ' उनले भने ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १८:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया