हेटौंडा अस्पतालले करेन्ट लागेर उपचारमा आएका बालकलाई मृत घोषणा गरेपछि... [भिडियो]

हेटौंडा ९ सिमेन्टरोडका १४ वर्षीया शोहन लामालाई कर्रा खोलामा दिउँसो २ः३० बजेतिर पौडी खेल्ने क्रममा करेन्ट लाग्यो । 

स्थानीय तथा परिवारको रहोबरमा उपचारको लागि दिउँसो ३ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा ल्याइपुर्‍याए । 

अस्पताल ल्याएको केहीबेरमा नै अस्पतालका ड्युटीमा खटिएका डाक्टरले लामालाई मृत घोषणा गरिदिए । पोष्टमार्टमका लागि बच्चाको अभिभावकलाई जिम्मा दिए । 

बालकको बुवा रोजगारीको क्रममा नारायणगढमा रहेका कारण तुरुन्तै हेटौंडा आउन लागि आफन्तले खबर गरिदिए । उनका बुवा आउन केही समय लाग्ने भएपछि उक्त मृत भनिएका लामालाई आफन्तले घेरेर बसिरहे । 

मनले नमानेपछि उनको काकी पर्ने एक महिलाले उनको हातगोडामा मुसारिन् । तब उनले उक्त बालकको हातगोडा तातो छ भन्दै चिच्याइन् । सबैले आएर हात गोडा र छातीमा मुसार्न थालेपछि करिब ६ बजेको समयमा बालकले दुवै आँखाबाट आँसु झारेको एक प्रत्यक्षदर्शीले बताए । 

त्यसपछि 'बच्चा जिउँदै छ, उपचार गर्न पर्‍यो' भन्दै बालकका आफन्तहरुले अस्पताललाई दबाब दिन थालेपछि अस्पतालको ध्यान उक्त बालकको उपचारतिर लगाएर उपचार गर्न सुरु गरियो । 



घटना घटेको लामो समयसम्म पनि बालकको चेत रहेकै अवस्थामा अस्पतालले मृत घोषणा गरेको भन्दै हाल स्थानीय तथा बालकका आफन्तले अस्पताल घेराउ गरेका छन् । 

यता, अस्पताल प्रशासनले भने गल्ती गर्ने डाक्टरलाई कारबाही गरिने बताएको छ । बच्चालाई कसरी बचाउने भन्नेतर्फ सोच्ने बेला भएको कारण अन्य बहसमा नलाग्ने जनाएको अस्पताल प्रशासनको भनाइ छ । 



यद्यपि उक्त बालकलाई हेर्ने डाक्टरको नाम भने बच्चाको अभिभावकलाई पनि थाहा नभएको र अस्पतालले नाम दिन पनि नमानेको भन्दै पीडित पक्ष आक्रोशित भएका छन् । हाल उक्त बालकको उपचार सोही अस्पतालमा भइरहेको छ ।

[भिडियो]

  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार २०:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया