खेलाडी विदेश पलायन : बाध्यता कि रहर ?

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रूपमा अगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । 

राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरू पलायनको बाटो रोजिरहेको कतिपय खेलविज्ञहरू बताउँछन् । तर, राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।  

केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर, योबाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरू नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका बसन्त रेग्मी, पृथु बाँस्कोटा, नरेश बुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार, सिपोरा गुरुङलगायत खेलाडीहरू विदेश पलायन भइसकेका छन् । 

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हाबी भएको सर्वत्र दृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरूको वैकल्पिक रोजाइ विदेश बन्ने गरेको छ । 

विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरूले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ । नेपाली खेलकुदलाई नियालिरहेका खेलविज्ञ सुशील नरसिंह राणाले आशा नभएपछि  खेलाडीले विकल्प खोज्नु बाध्यात्मक परिस्थित रहेको बताउँछन् । राणाले खेलकुदमा राजनीति हाबी हुनुले नकारात्मक असर परेको औंल्याए ।

नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरू पैसामा नदौडिने बताए । तर, पछिल्लो समय खेलमा राजनीति हाबी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको बताए । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने खेलविज्ञ राणाले बताए ।  



‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन । सबैभन्दा महत्वपूर्ण विषय नेपाली खेलाडीलाई पैसा मात्र हुने । उनीहरूका लागि बाँध्ने संयन्त्र राज्य स्तरबाट छैन । खेलाडीलाई सबै महिना व्यस्त बनाउने संयन्त्र राज्यस्तरबाट हुनसकेको छैन । नेपाली खेलाडी पैसाको मात्र  लागि भन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन्,’ उनले भने, ‘यस्ता खेलाडीहरू धेरै छन्,  यस्तो वातावरण उपलब्ध नहुने अवस्था अहिले छ । जुन सेवा सुविधा अत्यावश्यक र न्यूनतम आवश्यकता हुन । यसको पछाडि राजनीति हावी हो । जतिसुकै राजनीति छैन भनेपनि खेलकुदमा निकै राजनीति हाबी छ । तल्लो स्तरदेखि माथिल्लो तहसम्म राजनीति हाबी छ । खेलकुदमा जीवन अपर्ण गरेको प्रोफेसनल मान्छेहरू खेलभन्दा टाढा छन् । उनीहरुले टुलुटुलु हेर्नुको विकल्प छैन । खेलाडी पलायनको खबरहरु दिन प्रतिदिन सुनिरहनुपर्ने अवस्था छ ।’

राज्य स्तरबाट खेलाडीको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्किएको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ । 



नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिश्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर, अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए ।  

‘खेलाडीलाई क्यालेन्डर अनुसार व्यस्त बनाई राखिरहँदा उसको प्रदर्शन राम्रो हुन्छ । राम्रो प्रदर्शनको आधारमा उसलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिनुपर्छ । प्रशिक्षणका क्याम्प नियमित हुनुपर्यो । यस्तो अवस्था रह्यो भने जागिरकै लागि खेलाडी भौँतारिनु पर्दैन । अहिलेको अवस्थामा खेलाडीले विभिन्न माध्यमबाट आर्थिक आर्जन गर्नसक्छ । निजी क्षेत्रबाट आयोजना हुन थालेका प्रतियोगिता सहभागी भएर वार्षिक ८/१० लाख कमाउन सक्ने अवस्था अहिले खेलाडीलाई बनेको छ,’ राणाले भने, ‘विगतमा यस्तो थिए । भलै निजी क्षेत्रबाट गरिने यस्त प्रतियोगिता दीर्घकालिन नहोलान् तर खेलाडीलाई आर्थिक आर्जनको क्षेत्र बढेको छ । मुख्यतः राम्रो खेलाडी राज्यले पाउनका लागि ग्रासरुट लेभल राम्रो हुनुपर्‍यो । दीर्घकालिन योजनाहरु उच्च स्तरबाट आवश्यक छ ।’ 
 
नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन् । भविष्यको प्रत्याभुति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन । करातेबाट नेपाली खेलकुदलाई धेरैपटक पदक दिलाएका दीपक श्रेष्ठ विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवासुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् । 

उनले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रूपमा खेल छोड्ने गरेको बताए । नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट बनाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।  

‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्यबाट निमार्ण गर्नुपर्छ । विगतमा राम्रो नतिजा ल्याउने खेलाडीलाई जागिरको व्यवस्था हुन्थ्यो र हामी अहिले यो अवस्थमा छौं । तर अहिले फरक छ । पहिलो खेलकुद अगाडि बढेको थियो । आठौं साफअघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो,’ उनले भने, ‘आपूm भिजेको खेलमा जोडिन पाउँदा भविष्य निश्चित थियो । तर, १२ औं साफपछि त्यो अवस्था रहेन । अहिलेका खेलाडीले खेलेर के पाउने त? भोलि व्यावहारिक अवस्थामा जानुपर्ने हुन्छ । उर्वर समय व्यतित गरेपछि भविष्यको अन्योलताले खेलाडी पलायन भइरहेका छन् ।’

राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रूपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यसबाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । 

खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ । 

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १३:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया