शिक्षकको खुलातर्फको नतिजा प्रकाशनमा किन विलम्ब ?

गत वर्षको कात्तिकमा शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर महिनामा हुने भनेको थियो । 

खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुने, सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । 

कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर महिनामा हुने उल्लेख थियो । यद्यपि, तीनै तहको विज्ञापन भने मंसिर महिनामा भएको थिएन । तर, शिक्षक सेवा आयोगले माध्यमिक तहको खुलातर्फको विज्ञापन भने मंसिर अन्तिमतिर गरेको थियो । 

मंसिरको २९ गते माध्यमिक तहको विज्ञापन गर्नुले शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिका अनुसरण गर्न खोजेको हो कि भन्ने आकलन गर्न सकिन्छ । 

कार्यतालिकामा तीन तहकै सामान्य परीक्षा फागुनमा हुने उल्लेख गरिएको छ । तर, आयोगले एक महिना ढिलो गरी माध्यमिक तहको सामान्य परीक्षा १५ चैतमा गरेको थियो । भने सामान्य परीक्षाको नतिजा २०७९ वैशाख २० मा प्रकाशन भएको थियो । जुन कार्यतालिका अनुसार नै भएको देखिन्छ । 

यता, निम्न माध्यमिक र प्राथमिक तहको हकमा भने खुलातर्फको विज्ञापन नै कार्यतालिकाभन्दा १ महिना ढिलो गरी भएको थियो । निम्न माध्यमिक तहको विज्ञापन पुस ९ गते र प्राथमिक तहको विज्ञापन पुस  १२ गते गरेको थियो । 



विषयगत परीक्षा वैशाखमा सञ्चालन हुने कार्यतालिका छ । तर, विषयगत परीक्षा भने कार्यतालिका भन्दा ३ महिना ढिलो गरी असारमा सञ्चालन भएका छन् । शिक्षक सेवा आयोगले असार ९ गते माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो । त्यसैगरी असार ११ मा निम्न माध्यमिक तहको परीक्षा र असार १३ मा प्राथमिक तहको परीक्षा सञ्चालन गरेको थियो । 

शिक्षक सेवा आयोग​का सूचना अधिकारी सुर्दशन मरहट्ठाले माध्यमिक तहको नतिजा भाद्र महिनाभित्र नै सार्वजनिक गर्ने संकेत गरेका छन् । निम्न माध्यमिक तह र प्राथमिक तहको नतिजा भने कार्यतालिकाअनुसार प्रकाशन गर्न सकिने अवस्था नरहेको बताएका छन् । 



‘दशैँअगाडि एउटा तहको नतिजा प्रकाशन गर्न सकिन्छ कि भनेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । कार्यतालिका कार्यान्वयन गर्ने कोसिस गरेकै हौँ । तर, साउनमा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘एउटा विषयको दुईवटा विषयगत उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुन्छ, एउटा विषयका लागि दुईजना विज्ञले परीक्षण गरिराख्नुभएको छ ।’ 

दशैँभन्दा अगाडि माध्यमिक तहको नतिजा सार्वजनिक गर्न सकिन्छ कि भन्नेमा आयोग रहेको उनले बताए । 

 

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १८:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया