पाठ्यपुस्तक, खानेपानी र शौचालयको माग गर्दै विद्यालयमा तालबन्दी

बझाङको दुर्गाथली गाउँपालिका वडा नं. २ मा रहेको चौधारी माध्यमिक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने गरी लापरबाही गरेका कारण विद्यालयमा तालाबन्दी गर्नुपरेको चौधारी माविका अध्ययनरत विद्यार्थीले बताएका छन् ।

विद्यालयले शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा कुनै चासो नदिएको, विद्यालयमा हालसम्म पनि खानेपानी, शौचालयलगायतका विषयमा ध्यान नदिएका कारण विद्यालयमा तालाबन्दी गर्नुपरेको उनीहरुले बताएका छन् ।

विद्यालयमा अझै पाठ्यपुस्तक नपुग्दा आफूहरुको पढाइ प्रभावित भएको चौधारी माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सागर मिश्रले बताए 
 । बारम्बार विद्यालय प्रशासनलाई जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएका कारण तालाबन्दी गर्नुपरेको उनले बताए । 

विद्यालयमा विद्यार्थीका लागि शुद्ध पिउने पानी पनि नभएको, उचित शौचालयको व्यवस्थापनमा समेत चरम लापरबाही गरेका कारण आफूहरुले आन्दोलन गर्नुपरेको अर्का विद्यार्थी प्रकाश जोशीले बताए । 

चौधारी माध्यमिक विद्यालयका नाममा रहेको जमिनसमेत स्थानीयले कब्जा गरी व्यवसाय सञ्चालन गरेको पाइएको छ । विद्यालयको नाममा रहेको जग्गालाई करिब ३० वर्षदेखि कब्जा गरेर स्थानीयले व्यावसायिक प्रयोगमा ल्याएका हुन् । 

विद्यालयको नाममा रहेको जमिन फिर्ता गराउनका लागि स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति मौन रहेको दुर्गाथलीबाट सहकर्मी शेरबहादुर ओलीले बताए । 



यसबारे गाउँपालिका अध्यक्ष दिलबहादुर थापासँग बुझ्दा विद्यालयमा तालाबन्दी गरेको र पाठ्यपुस्तक नपुगेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । स्थानीय तहमा रहेका विद्यालय सम्बन्धित पालिकाको मातहतमा रहने व्यवस्था भए पनि विद्यालयले कुनै आधिकारिक जानकारी नदिएका कारण यसमा आफूले प्रतिक्रिया दिन नमिल्ले अध्यक्ष थापाले बताए । 

विद्यालयको नाममा रहेको जमिन स्थानीयले कब्जा गरेको विषय ०५१ सालदेखिको समस्या भएका कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेपछि मात्रै यो विषयमा छलफल अघि बढ्ने उनले बताए । 



पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएका कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्ने र विद्यालय मर्जका लागि कार्यदल निर्माण भएका कारण केही दिनपछि यो विषयमा छलफल गर्ने गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले बताए । 

यता, विद्यालयका प्रधानाध्यापक भने मोबाइल स्विच अफ गरेर बसेका छन् । विद्यालयमा पाठ्यपुस्तकको अभाव र खानेपानी तथा शौचालयको विषयमा उनीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन । 

  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १९:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया