उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको बताइन् । 

उनले आफ्नो कार्यकालमा सहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताइन् । झाँक्रीले सहरी विकास मन्त्री हुँदा  विकास निर्माण सम्बन्धी महत्त्वपूर्ण नीतिहरू परिमार्जन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन् । 

उनले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन् । झाँक्रीले नीतिगत तहमा अनियमितता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि बताइन् ।

‘साना आयोजना समयमा नै नसकिनुको कारण उपभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौँ भनेर त्यो काम रोक्यौँ । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍यो,’ पत्रकार सम्मेलनमा झाँक्रीले भनिन्, ‘त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजानको लागि मंसिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक समेत बस्यौँ । आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता,आयोजनाले पार्ने प्रभाव समेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ ।’ 

सहरी मन्त्रालयले योजनामा काम गरेको सुनाउँदै उनले भनिन्, - ‘धेरै विकास निर्माणको काम गर्न सक्यौँ। अनियमितता रोक्ने प्रयास गरेँ,यस्ता झन्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरू कै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरूलाई परिवर्तन गर्न धेरै काम गरेका थियौँ ।’

झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताइन् । सचिव झाँक्रीले आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरू सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताइन् ।
 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १३:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया