प्रतिनिधिसभा निर्वाचन : स्थानीय चुनावको नतिजाले उत्साहित गठबन्धन, तेस्रोमा खुम्चिने त्रासमा एमाले

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै दलका शीर्ष नेताहरूको दौडधूप बढ्न थालेको छ । सरकारले ४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने निर्णय गरेसँगै नेताहरू त्यसको तयारीमा जुट्न थालेका हुन् । 

स्थानीयजस्तै प्रदेश र संघको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र नेकपा एमालेबीच हुने देखिन्छ । गठबन्धनका शीर्ष नेताहरूबीच तालमेल गरेर संघ र प्रदेशको चुनावमा एमालेसँग भिड्ने सहमति भइसकेको छ । त्यसैअनुरूप गठबन्धनका नेताहरू अहिले सिट बाँडफाँटको टुंगो लगाउनमा व्यस्त छन् । 

आकांक्षी बढी भएकाले स्थानीय तहजस्तै  प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनमा आवद्ध दलहरूलाई उम्मेदवार छान्न भने सकस हुने देखिन्छ । उता एमालेसहित लोसपा, राप्रपा, नेमकिपालगायत साना दलहरू पनि चुनावी रणनीति बनाउँदै छन् ।

गठबन्धनमा सम्मिलित पाँच दल गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाअनुरूप नै सफलता पाउनेमा आशावादी छन् । एमाले, लोसपा, राप्रपालगायत दलहरू संसदीय निर्वाचनमा गठबन्धनलाई निराश बनाउने लक्ष्यमा छन् । स्थानीय तह निर्वाचनको परिणामअनुसार प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई फाइदा पुग्ने देखिन्छ । 

दलहरूको सम्भावित नतिजाको चर्चा गर्नुअघि एकपटक २०७४ को निर्वाचनतिर फर्किऔँ । अघिल्लो निर्वाचनको चर्चा गर्दा कर्णालीमा एमाले पहिलो, माओवादी केन्द्र तेस्रो र कांग्रेस चौथो पार्टी बने । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । 

अघिल्लो निर्वाचनमा कर्णालीमा प्रतिनिधिसभाको १२ सिटमध्ये एमालेले ६ स्थानमा जित हासिल गर्यो । त्यस्तै, माओवादी केन्द्रले यहाँ ५ निर्वाचन क्षेत्रमा जित प्राप्त गरेको थियो । कांग्रेस भने ०७४ को संसदीय निर्वाचनमा कर्णालीमा शून्य भयो । बरु हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भए । यद्यपि, माओवादी पृष्ठभूमिका उनी निर्वाचितपछि माओवादीमै फर्किए । 



कर्णालीमा प्रदेशसभा निर्वाचनको कुरा गर्दा एमाले नै पहिलो पार्टी बन्यो । कर्णालीमा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ सिट गरी ४० सिटका लागि निर्वाचन भएको थियो । वाम गठबन्धनका तर्फबाट एमालेले १४ सिटका लागि उम्मेदवारी दिएकोमा सतप्रतिशत अर्थात् १४ सिटमै जित हात पार्यो । एमालेबाट ६ जना समानुपातिक सदस्य निर्वाचित भए ।  

बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले १० सिटमा उम्मेदवारी दिएकोमा ९ स्थानमा विजयी हासिल गर्यो । माओवादीमा ५ जना समानुपातिक सदस्य निर्वाचित भएका थिए । कांग्रेसले प्रत्यक्षतर्फ २४ स्थानमा उम्मेदवारी दिएर एक स्थान मात्र जित्न सफल भयो । कांग्रेसबाट समानुपातिकतर्फ भने ४ जना सदस्य निर्वाचित भए ।



स्थानीय तह निर्वाचन ०७९ सम्म आइपुग्दा कर्णाली प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशको ७९ पालिकाको मतपरिणाम अनुसार कांग्रेसले ३२ पालिका जितेको छ । दोस्रो पार्टी बनेको माओवादी केन्द्रले २३ पालिका जितेको छ । तेस्रोमा खस्किएको एमालेले १५ पालिकाको नेतृत्व गर्ने मौका पाएको छ । एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा सर्वाधिक २७ पालिका प्रमुख जितेको थियो । 

अघिल्लोपटक तेस्रोमा सीमित भएको कांग्रेसले यसपालि भने सबैभन्दा बढी ३२ पालिका जितेको छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा कर्णालीमा कांग्रेसले १२ नगरपालिकामा र २० गाउँपालिका अध्यक्षमा जित हात पार्यो । उसले यहाँ उपप्रमुखमा १० र उपाध्यक्षमा १७ स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै, कांग्रेसले २५३ वडाध्यक्ष, २५३ महिला सदस्य, २१७ दलित महिला सदस्य र ४६८ सदस्य जितेको थियो । स्थानीय तह निर्वाचनमा कर्णालीमा कांग्रेसबाट कुल १ हजार २५० जना उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै, अहिले कर्णालीमा पाँच नगरपालिका र १८ गाउँपालिकामा माओवादीको नेतृत्व छ । त्यस्तै, उसले पाँच नगरपालिका उपप्रमुख र २० गाउँपालिका उपाध्यक्ष जितेको छ । कर्णालीमा माओवादीबाट २२३ जना वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य र ४१५ वडा सदस्य गरी जम्मा १ हजार १२३ जना उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै, ०७९ को स्थानीय निर्वाचनमा एमालेले ६ नगरपालिका र ९ गाउँपालिका अध्यक्ष जित्यो । उसले ८ स्थानीय तहमा उपप्रमुख, १२ ठाउँमा उपाध्यक्ष, १८४ स्थानमा वडाध्यक्ष जितेको छ । त्यस्तै, एमालेबाट १९१ महिला सदस्य, १९२ दलित महिला सदस्य विजयी भएका छन् । यसपालि कर्णालीको स्थानीय तहमा एमालेबाट कुल १ हजार ३७ जना जननिर्वाचित छन् । 

त्यस्तै, एकीकृत समाजवादीले कर्णालीमा दुई नगरप्रमुख, चार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । उसले २९ वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडा सदस्य पनि जितेको छ । नेकपा एसबाट कर्णालीमा कुल १७९ जना उम्मेदवार निर्वाचित भएका छन् । 

त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कर्णालीमा सात वडाध्यक्ष, सात महिला सदस्य, ६ दलित महिला सदस्य र ११ वडा सदस्य रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यहाँ एक वडाध्यक्ष, दुई महिला, एक दलित महिला सदस्य र सात वडा सदस्य विजयी भएका छन् । त्यस्तै, कर्णालीमा नेकपा (माओवादी समाजवादी) बाट एक महिला सदस्य र एक दलित महिला सदस्य निर्वाचित भएका छन् ।

त्यस्तै, कर्णालीमा स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा तीन, उपाध्यक्षमा एक, वडाध्यक्षमा २०, महिला सदस्यमा ९, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी ६८ जना उम्मेदवार निर्वाचित भएका छन् । नतिजा हेर्दा प्रदेशसभा निर्वाचनमा पहिलो बनेको एमाले स्थानीय तह चुनावमा भने तेस्रो पार्टीमा खुम्चियो । 

एमालेबाट फुटेर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी स्थापना गरेपछि एमालेलाई त्यसको असर स्थानीय चुनावमा प्रस्टै देखियो । आसन्न प्रदेश र संघको चुनावमा पनि पार्टी फुटको असर पुग्न एमालेलाई भय कायमै छ । यही त्रासका कारण एमालेले अन्य दलसँग तालमेल गर्ने सम्भावना छ । गठबन्धनमा आवद्ध पाँच दलसँग भने एमालेको तालमेल सम्भावना कम छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि गठबन्धनका दलसँग चुनावी तालमेलको सम्भावना नरहेको बताउँदै आएका छन् । साथै, उनले गठबन्धनको चर्को आलोचना पनि गर्दै आएका छन् । अन्य साना दलसँग भने एमालेले केही ठाउँमा तालमेल गर्ने सम्भावना छ । 

उम्मेदवारको विषयमा गठबन्धनभित्र तीव्र असन्तुष्टि हुने सम्भावना भएकाले त्यसको फाइदा उठाउन एमाले एक्लै पनि प्रदेश र संघको निर्वाचन प्रतिस्पर्धा गर्नसक्छ ।

  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १३:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया