राष्ट्रिय सभा उपाध्यक्षलाई समेटेर संवैधानिक परिषद् सात सदस्यीय बनाउन माग

नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद सात सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । 

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरेकी हुन् । 

संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन् । उनले भनिन्, राष्ट्रिय सभा सातजनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ । चारजनाको कोरम पुगेपछि निर्णय गर्दाखेरि एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरुमा नियुक्ति गर्न सक्छौं भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने सांसद बेल्बासेले दाबी गरिन् ।  





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १७:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया