नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरका प्रमुख चार चुनौती

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

भारतीय पूर्वअलराउन्डर प्रभाकरले देशका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्टमा १६०० रन बनाउनुका साथै ९६ विकेट हात पारेका छन् । त्यस्तै, प्रभाकरले एकदिवसीय अन्तर्राष्‍ट्रियमा १८५८ रन बनाउनुका साथै १५७ विकेट लिएका छन् ।

रणजी ट्रफी विजेता प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली तथा रणजी ट्रफीका विभिन्न टोलीको प्रशिक्षण सम्हालेको अनुभव छ । ५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।

‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाललाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु,’ क्यानसँगको सम्झौतापछि उनले भनेका छन् । मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो ।

नेपाली टोलीको मुख्य प्रशिक्षक भएपछि उनी सामु चुनौतीको पहाड उभिएको छ । जसलाई पार गर्न त्यति सहज भने हुनेछैन ।

प्रभाकरका सामु चार प्रमुख चुनाैती     



१. सीमित स्रोत र साधनकाबीच राम्रो नतिजा निकाल्नु

नेपाली क्रिकेटमा न्यून लगानी र सीमित संरचना छन् । त्यसबाट विश्व क्रिकेटमा उच्च नतिजा निकाल्नु निकै चुनौतीको कार्य हो । नेपाली खेलाडीले एउटा राष्ट्रिय प्रतियोगिताका भरमा वर्ष धान्नुपर्ने अवस्था छ । सीमित प्रतियोगिताबाट उत्पादन हुने सीमित खेलाडीका भरमा नेपालले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेलहरू खेल्नु परिरहेको छ । 



पर्याप्त विकल्प नहुँदा एकदिवसीय प्रतियोगिताबाट टी–२० तथा टी–२० प्रतियोगिताबाट एकदिवसीय खेलाडी छान्नुपर्ने बाध्यता छ । जसले गर्दा खेलाडीले आफ्नो बलियो पक्षमा ध्यान दिन पाइरहेका छैनन् । 

पछिल्लो दुई वर्षदेखि घरेलु एकदिवसीय प्रतियोगिता नहुनाले पनि नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट पार्छ । नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रुपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशको आकाश पातलको फरक छ । 

नेपालले हार्दा कसैले पनि लगानी र संरचनाको विषयमा प्रश्न उठाउँदैनन् । कप्तान र प्रशिक्षक त्यसको भागीदार हुन्छन् । नेपाली टोलीबाट सधैं उच्च अपेक्षा राखिन्छ । खराब नतिजामा त्यसै अनुसारको आलोचना आउनु स्वभाविक हो । त्यसैले प्रभाकारका सामु सीमित स्रोत र साधनकाबीच पनि राम्रो नतिजा निकाल्नुपर्ने चुनौती छ । 

२. ब्याटिङमा सुधार

नेपालको सबैभन्दा ठूलो कमजोरी ब्याटिङ नै हो । इतिहास देखिनै नेपालको ब्याटिङ कमजोर हुँदै आएको छ । नेपालले हार्ने प्राय सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । 

अन्य एसोसियट टोलीले आफुलाई सुधार गर्दा नेपालको अवस्था भने दशक अघिकै जस्तो छ । ब्याटिङ सुधारबिना नतिजा आउन सक्दैन । उनले यसका लागि छोटो समयमा युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ । ब्याटिङ सुधारको लागि प्रभाकर मात्र होईन क्यान र खेलाडीमा भर पर्नेछ । अहिले नेपालको जुन संरचना छ त्यसले ब्याटिङ सुधारको सम्भावना धेरै कठिन देखिन्छ ।

त्यस्तै, प्रभाकरलाई नेपाली खेलाडीको गैर-जिम्मेवारीको अन्त्य गुर्नपर्ने चुनौती पनि छ । विशेष रुपमा नेपाली खेलाडीले ब्याटिङमा आफ्नो जिम्मेवारी बहन गर्न सकिरहेका छैनन् । 

खेलाडीमा धैर्य नहुनु, खराब सट सेलेक्सन, अत्याधिक डट बल, परिस्थितिअनुसारको प्रदर्शन गर्न नसक्नु आदि नेपाली टोलीको कमजोरी हुन् । ​प्रभाकरलाई लामो समयदेखि नेपाली खेलाडीमा देखिँदै आएको गैरजिम्मेवारी पनको अन्त्य गर्नुपर्ने चुनौती छ । तर, सीमित घरेलु प्रतियोगिताका कारण यसमा उनलाई त्यति सहज भने हुने छैन । 

३. टोलीभित्रको गुट अन्त्य 

पूर्वप्रशिक्षक पुबुदु दाशानायकेको भनाइलाई आधार मान्ने हो भने नेपाली टोलीभित्र गुट मौलाएको छ । उनले जाँदा जाँदै भनेका थिए, ‘म आउँदा नेपाली टोलीमा गुट मैलाएको थियो तर मैले केहि हदसम्म त्यसलाई अन्त्य गरेको छु ।’ पुबुदुको आशय अझै पनि टोलीभित्रको गुट पूर्णरूपमा अन्त्य नभएको थियो । 

नयाँ प्रशिक्षक प्रभाकरका लागि टोलीभित्रको गुट अन्त्य गरेर खेलाडीलाई एकतामा ल्याउने चुनौती छ । नेपाल टोली भित्रको गुटले सबैलाई वाक्कदिक्क बनाएको छ । क्रिकेट टोलीको खेल हुँदा एकता बिना नतिजा आउन सक्दैन । नेपालका प्रमुख खेलाडी दुई धारमा छन् । एकले अर्कोलाई साथ नदिएको आरोप लाग्दै आएको छ । टोलीमा एकले राम्रो गर्दा अर्कोले नगर्नेसम्मको आरोप लाग्न थालेको छ ।

अब प्रभाकरको पहिलो प्रयास टोलीमा रहेको गुट अन्त्य गर्नुपर्ने हुन्छ । तर, यो सहज भने हुने छैन । सन्दीप लामिछानेलाई कप्तान दिएपछि गुट झनै मौलाएको छ । उनीहरू टोलीमा शक्तिशाली पक्षको रूपमा छन् । 

पछिल्लो समय टोली भित्र मौलाएको गुट अन्त्य उनको मुख्य चुनौती हुनेछ । टोली एकता विना नतिजा आउन सक्दैन । खेलाडीको अनुशासनमा पनि प्रश्न उठ्दै आएको छ । प्रभाकर हक्की र रुखो स्वभावका छन्, त्यसैले पनि उनी नेपाली टोलीभित्रको गुट अन्त्य गर्न सफल हुने आशा गर्न सकिन्छ । 

४. एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु

प्रभाकरका लागि सबैभन्दा मुख्य चुनाैती भनेको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु हो । तर यसका लागि उनीसँग थोरै समय छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन उनले धेरै परिवर्तन गर्नुपर्ने हुन्छ । 

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै आएको छ । नेपाल २० खेलमा आठ जित र ११ मा हारका साथ १७ जोडेर लिगको छैटौं स्थानमा छ । 

नेपालले अब १६ खेल खेल्न बाँकी छ । जसमा आठ खेल घरेलु तथा आठ खेल विदेशी मैदानमा खेल्नुपर्ने हुन्छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउन कम्तिमा १० खेल जित्नुपर्ने हुन्छ । नेपालले विदेशी मैदानका रुपमा पपुवा न्यूगिनी र नामिबियिामा गएर खेल्नुपर्ने हुन्छ । यी दुवै देशको वातावरणमा खेल्न नेपाललाई सहज हुने छैन ।

समय छोटो भएकाले प्रभाकरलाई नेपाली टोलीको एकदिवसीय मान्यता जोगाउन निकै गाह्रो हुने देखिन्छ । नेपाली टोलीमा परिवर्तनको आवश्यकता छ । तर परिवर्तन तत्काल हुने कुरा पनि होईन । यसका लागि केहि समय लाग्छ । 

उनीसँग त्यो समय भने छैन । प्रभाकरलाई नेपाली खेलाडी कस्ता छन् त्यो नै राम्रोसँग थाहा छैन । २०२३ मार्चमा विश्वकप लिग–२ सकिने छ । समस्या समाधान गर्दै अघि बढ्ने समय नहुँदा एक्कासी नतिजा निकाल्न पक्कै सहज हुने भने छैन ।

त्यस्तै, लिग–२ को शीर्ष ३ मा रहदै एकदिवसीय विश्वकपको बाटो जिवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान पक्का गर्नु पनि प्रभाकरका लागि चुनौतीका रुपमा रहेको छ ।

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १२:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया