गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाई राखेका हुन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दावी गरे ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए ।

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो । एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो' उनले भने।

महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे ।





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १६:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया