अख्तियारको नजर कर्णालीमा : ११ जनालाई विपक्षी बनाई दुई दिनमा सात मुद्दा दायर
फाइल तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका विभिन्न जिल्लाका मुद्दा अगाडि बढाएको छ । अख्तियारले २ दिनमै कालीकोट, मुगु, हुम्ला जिल्लाका सातवटा मुद्दा विशेष अदालतमा दायर गरेको हो । जसमा ११ जनालाई विपक्षी बनाइएको छ ।

२२ साउनमा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का विभिन्न योजना आफू अनुकूलका व्यक्तिलाई पारी आर्थिक अनियमितता गरेको भन्दै अदानचुली गाउँपालिका कार्यकारी अधिकृत टक्क दत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, सब इन्जीनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको हो । अख्तियारले उनीहरूबाट २१ लाख, ४६ हजार ४ सय ९२  बराबरको कैद र जरिबाना माग दाबी गरेको छ ।

त्यस्तै २२ साउनमै अख्तियारले डिभिजन वन कार्यालय, मुगुका तत्कालीन डिभिजनल वन अधिकृत भरतबहादुर बुढ्थापा, सब-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाउपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले तत्कालीन डिभिजन वन अधिकृत बुढ्थापा, सब-इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब-इन्जिनियर हिमालकुमार मल्लविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । त्यस्तै, सोही प्रकरणमा टुजेमीदेखि बाधुँकासम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र सचिव कुशुम देवी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूले ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ दुरुपयोग गरेको अख्तियारको आरोप छ ।

त्यस्तै, कालीकोटका सरकारी कर्मचारीसहित आधा दर्जन व्यक्ति भ्रष्टाचारमा मुद्दामा तानिएका छन् । अख्तियारले मंगलबार एकैदिन उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेले कृषि तालिम कार्यक्रमको ३ लाख ८८ हजार ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



आर्थिक वर्ष २०७०/७१ मा कृषि विकास कार्यालयले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानविन शुरु गरेको थियो । अनुसन्धानका क्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिएको पाइएपछि मुद्दा चलाइएको हो । अख्तियारले दायर गरिएको रिटमा पाण्डेसँग ३ लाख ८८ हाजर ७५० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, कालीकोटकै मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद पाण्डेसहित तीन जना पनि भ्रष्टाचारमा मुछिएका छन् । भवन निर्माणमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।



अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालीकोटको भवन निर्माण उपभोक्ता समिति र समितिका सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) रहेका छन् ।

आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । त्यस क्रममा उनीहरूले भवन निर्माणमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारले आज दायर गरिएको मुद्दामा त्यति नै रकम बिगो माग गरिएको छ ।

आजै जिल्ला विकास समितिको कार्यालय कालीकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो मागिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समावेश गरी भुक्तानी लिने कार्य गरेको भन्दै कालीकोट जिल्लाका तत्कालीन कार्यक्रम संयोजक कमलप्रसाद खनालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले खनालबाट बिगो ३ लाख २६ हजार ४ सय ९७ रुपैयाँ, कैद सजाय र बिगोबमोजिम जरिवाना माग दाबीसहित मुद्दा दायर गरेको छ ।

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार २१:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया