प्रतिनिधिसभा निर्वाचन :
गण्डकीमा एमालेले जोगाउन सक्ला बिरासत ? गठबन्धनको बलमा पहिलो पार्टी बन्ने दाउमा कांग्रेस

सरकारले ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकिसकेको छ । यसपटक सरकारले एकै चरणमा संघ र प्रदेशको चुनाव गर्न लागेको हो । निर्वाचन मिति घोषणासँगै दलहरू तयारीमा जुटिसकेका छन् ।

आमनिर्वाचनकै लागि अहिले दिनहुँ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । यसपालिको चुनावमा सत्ता गठबन्धन भर्सेस नेकपा एमाले हुने देखिन्छ । गत प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । उसले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । 

आसन्न निर्वाचनमा भने एमालेलाई आफ्नो साख जोगाउन गाह्रो छ । पार्टी विभाजन र गठबन्धन प्रतिस्पर्धी भएकाले उसलाई अघिल्लो निर्वाचनको सफलता जोगाउन गाह्रो भएको हो । अघिल्लो निर्वाचनमा दोस्रोमा रहेको कांग्रेस अहिले सत्ता गठबन्धनको शीर्ष दल छ । उसले ०७४ को संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० सिट जितेको थियो । 

अघिल्लोपटक ठूलो धक्का महसुस गरेको कांग्रेस ४ मंसिरको निर्वाचनमा पहिलो पार्टी बन्ने ध्याउन्नमा छ । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने कांग्रेस संसदीय चुनावपछि पनि पहिलो दल बन्ने सम्भावना बलियो छ । 

गत निर्वाचनमा गण्डकी प्रदेशको कुरा गर्दा कांग्रेसको अवस्था निकै कमजोर थियो । उसले प्रत्यक्षतर्फ केवल एक सिट मात्र जित्न सक्यो । ०७४ को निर्वाचनमा गण्डकीमा पनि एमाले पहिलो पार्टी बन्यो । १८ सिट रहेको गण्डकीमा वाम गठबन्धनको तर्फबाट एमालेले १३ सिटमा जित हासिल गर्‍यो । त्यस्तै, माओवादी केन्द्रले यो प्रदेशमा ३ सिट जित्यो । 

त्यस्तै, गोरखाबाट आँखा चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका डा. बाबुराम भट्टराई विजयी भए । उनले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए । गण्डकीमा प्रदेशसभाका लागि ६० सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभामा प्रत्यक्षतर्फ १८ सिटमा चुनाव लडेकोमा एमालेले १७ स्थानमा विजयी हासिल गर्‍यो । समानुपातिकतर्फ एमालेका १० जना सदस्य निर्वाचित भए । 



त्यस्तै, गठबन्धनका तर्फबाट माओवादी केन्द्रले १५ स्थानमा उम्मेदवारी दिएकोमा ९ स्थानमा विजयी हासिल गर्‍यो । गण्डकीमा माओवादीबाट समानुपातिकतर्फ ३ सदस्य निर्वाचित भएका थिए ।  

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ३४ क्षेत्रमा उम्मेदवारी दिएकोमा ६ सिट मात्र जित्न सक्यो । समानुपातिकतर्फ उसका ९ जना सदस्य निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचन ०७९ मा गण्डकी प्रदेशमा मेयरमा २५, अध्यक्षमा ५८, उपमेयरमा २५, उपाध्यक्षमा ५८, वडाध्यक्षमा ७ सय ४४, महिला सदस्यमा ७ सय ४२, दलित महिला सदस्यमा ७ सय १७, खुला सदस्यमा १ हजार ४ सय ८६ गरी जम्मा ३ हजार ८ सय ५५ जना निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी कांग्रेसका १ हजार ६८३ जनप्रतिनिधि छन् । 



दोस्रोमा रहेको एमालेबाट १ हजार ५ सय ९२ जना निर्वाचित भएका छन् । गण्डकी प्रदेशमा स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट ४ सय २२, राष्ट्रिय जनमोर्चाबाट ५९, नेकपा एकीकृत समाजवादीबाट १९, जनता समाजवादी नेपालबाट १५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, राष्ट्रिय जनमुक्ति पार्टीबाट एक तथा स्वतन्त्र बाट २० जना विजयी भएका छन् । 

गण्डकी प्रदेशमा प्रतिस्पर्धी गठबन्धन भए पनि एमालेले दोस्रो स्थान हासिल गर्न सफल भयो । अघिल्लोपटक यो प्रदेशमा उसले ३४ पालिका जितेको थियो । पार्टी विभाजनका बाबजुद यसपटक भने एमालेले ३५ सिट जित्न सफल भयो । 

गठबन्धन गरेको कांग्रेस यसपालि ४४ पालिका जित्दै पहिलो दल बन्यो । अघिल्लोपटक उसले गण्डकीमा  सर्वाधिक ३६ पालिका जितेको थियो । ०७४ को स्थानीय निर्वाचनमा पाँच पालिकामा सीमित भएको माओवादी यसपटक ११ पालिका जित्न सफल भयो । 

  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १२:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया