काठमाडौं– चोभारमा बनाउन लागिएको सुक्खा बन्दरगाहले त्यस क्षेत्रको सम्पदा मात्र बिगार्ने होइन काठमाडौं उपत्यकाकै वातावारण प्रदूषित गर्नेछ । निर्माण अवधिभर र सञ्चालनमा आइसकेपछि पनि उक्त बन्दरगाहले दुर्घटना बढाउने, ट्राफिक व्यवस्थापनमा समस्या पार्ने तथा व्यापक ध्वनि, वायु, जल र स्थल प्रदूषण गर्ने तथ्य खुलेको छ ।
सरकारी योजनाअनुसार बन्दरगाहमा भारतको कोलकाता, विशाखापट्टनम, चीनको केरुङ हुँदै सामान लिएर आउने कन्टेनर र ट्रक सीधै चोभार आउनेछन् । बन्दरगाह ६ सय कन्टेनर पार्क गर्ने क्षमताको बन्नेछ भने सामान ओसारपसार गर्न सयौं भीमकाय कन्टेनर र ट्रक ओहोरदोहोर गर्नेछन् । त्यसैगरी, बन्दरगाह निर्माण अवधिमा हेभी इक्विपमेन्ट, टिपर, ट्रकलगायत चल्ने सरकारले तयार गरेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) रिपोर्टमै उल्लेख छ ।
विश्व बैंकको प्रत्यक्ष संलग्नतामा बन्दरगाह निर्माणको अख्तियारी पाएको इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिले तयार गरेको इआइए रिपोर्ट आफैं भन्छ, ‘भौतिक वातावरणमा पर्ने केही असरहरू, जस्तै– निर्माणको बेला वायु र ध्वनि प्रदूषण बढ्ने, फोहोरमैला थुप्रिने, बागमती नदी प्रणालीमा दूषित पदार्थ मिसिन सक्नेजस्ता निर्माणसम्बन्धी केही समस्या हुन सक्ने सम्भावना रहन्छ ।’
त्यसैगरी, ‘सुक्खा बन्दरगाह निर्माणमा संलग्न सवारीहरूका कारण सवारी चाप बढ्न गई जोखिम बढ्ने’ र ‘सञ्चालनमा आएपछि पनि कन्टेनर तथा ट्रकहरूको अत्यधिक आवतजावतले सडकमा जोखिम बढ्ने सम्भावना’ पनि इआइए रिपोर्टले देखाएको छ । तर, यो सतही अनुमान मात्र हो । बन्दरगाहमा आउने कन्टेनर र ट्रकले उपत्यकामा पार्ने समग्र वातावरणीय प्रदूषणको अवस्था तथा ट्राफिक व्यवस्थापनमा पार्ने नकरात्मक प्रभावबारे कुनै विस्तृत अध्ययन गर्न सरकारले आवश्यक ठानेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास भाषणमा फास्ट ट्र्याक र चीनको रेल यही बन्दरगाहमा जोडिने बताएका थिए । तर, यो भाषणलाई पत्याउने कुनै आधार बनिसकेको छैन । तत्काल बन्ने बन्दरगाहका लागि भने भएकै सडकले भारी सवारीको भारबहन गर्नुपर्नेछ । अहिल्यै संसारको सबैभन्दा धेरै प्रदूषित सहरमा नाम आउने उपत्यकाको प्रदूषण र ट्राफिक व्यवस्थापन बन्दरगाहको निर्माण र सञ्चालनले झनै खराब तुल्याइदिने भने निश्चित छ ।
अमेरिकी एजेन्सी युनाइटेड स्टेटस इन्भाइरोमेन्टल प्रोटेक्सनको एउटा अध्ययनमा ८ हजार ५ सय पाउन्ड तौलको सानो ट्रकले १ सय ५० कारले गर्ने जति प्रदूषण गर्ने उल्लेख छ । उक्त एजेन्सीले सन् २०१६ मा गरेको अध्ययनले अमेरिकाको २३ प्रतिशत प्रदूषण ट्रककै कारण हुने गरेको देखाएको छ । पहिल्यै प्रदूषित र अस्तव्यस्त उपत्यकालाई झन् बन्दरगाहको निर्माण र सञ्चालनपछि बस्नयोग्य ठाउँका रूपमा जीवित रहन देला ?
स्थानीय कुवेर शाहीका अनुसार अहिले नै चोभारको बाटोमा चल्ने टिपरको भार र गतिले जमिन हल्लिने गरेको छ । शाही चिन्ता व्यक्त गर्छन्, ‘अहिले नै ट्रक हिँड्दा त घर हल्लिन्छ । भोलि ठूला कन्टेनर र ट्रक गुड्न थाले भने त यहाँका घर कति दिन टिक्लान् ?’
भारत र चीनबाट ट्रक र कन्टेनरमा आउने सामानको जाँचपास तथा भन्सारको कामसमेत निर्माणाधीन सुक्खा बन्दरगाहमै गर्ने सरकारको योजना छ । तर, यो परियोजना मानव बस्तीबाट कम्तीमा १० किलोमिटर पर बन्दरगाह बन्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई मिचेर अघि सारिएको छ ।
राणाकालीन टेकु भन्सार पनि मानव बस्ती बढ्दै गएपछि वीरगन्ज सार्नुपरेको तथ्य कोट्याउँदै पूर्वाधार विज्ञ किशोर थापा भन्छन्, ‘बस्ती बढ्न सक्ने ठाउँमा पोर्ट बनाउनु दीर्घकालीन हुदैन ।’ उपत्यकामा प्रदूषण फैलाएकै कारण सिमेन्ट कारखाना बन्द गरिएको तथ्य बिर्सेर बन्दरगाहको योजना ल्याउनु तर्कसंगत नभएको उनको ठहर छ । उनी भन्छन्, ‘सरकारले त्यहाँको खाली जग्गा मात्र देख्यो, त्यो जग्गा किन खाली गरिएको भन्नेतर्फ ध्यान नै दिएन ।’
विश्व बैंकले १९९७ डिसेम्बरमा प्रकाशित गरेको ‘अर्बन एअर क्वालिटी म्यानेजमेन्ट स्ट्रेटेजी इन एसिया, काठमाडौं भ्याली रिपोर्ट’मा उपत्यकाको वायु प्रदूषणको प्रमुख कारक हिमाल सिमेन्ट भएको उल्लेख गरेको थियो । त्यही निष्कर्षका आधारमा उक्त कारखाना बन्द गरिएको थियो । अहिले भने उस्तै प्रदूषणको अर्को कारक हुने बन्दरगाहमा पनि विश्व बैंकले नै ऋण लगानी गरेको छ ।
वातावरणविद् भूषण तुलाधरका अनुसार उक्त बन्दरगाहले उपत्यकाकै वातावरण प्रदूषित गर्नेछ । पश्चिमी वायु उपत्यका पस्ने नाका चोभार गल्छी नै भएको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ बन्दरगाह बनाउँदा ट्रकको विषाक्त धुवाँ हावामा मिसिएर उपत्यकाभित्र पस्छ ।’
वातावरणविद् तथा फोहोरमैला व्यवस्थापन केन्द्रका पूर्वनिर्देशक सूर्यमान शाक्य पनि बन्दरगाहका लागि चोभार गलत छनोट भएको बताउँछन् । उनी भन्छन्, ‘योजना नै गलत भयो । चोभारमा खाली ठाउँ त छ, तर त्यो स्थान बन्दरगाहका लागि उपयुक्त छैन ।’ उपत्यका आसपासबाट खुला क्षेत्र मासिँदै गएकोमा शाक्यलाई चिन्ता छ ।
चोभारमा बाँकी रहेको खुला क्षेत्रलाई पनि प्रदूषण उत्पादन गर्ने थलोको रूपमा विकास गर्न लागिएकोमा दुवै वातावरणविद् आक्रोशित पनि छन् । घना मानव बस्ती भएको क्षेत्रमा ठूला सवारीसाधन प्रवेश गराउँदा हावा र ध्वनि प्रदूषण स्वतः बढ्ने उनीहरूको दाबी छ । कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारमा अहिले आठ हजारभन्दा बढी मानिसको बसोवास छ ।
काठमाडौं र ललितपुर महानगर तथा सरकारले उपत्यकालाई लक्षित गरेर मोनोरेल, मेट्रोरेल र बाहिरी चक्रपथजस्ता योजना बनाइरहेकाले पनि काठमाडौं ठूला सवारीसाधनका लागि ‘सेन्सेटिभ जोन’ बनिसकेको वातावरणविद् तुलाधर दाबी गर्छन् ।
त्यसैगरी, आयोजनास्थलका केही रूख काटिने इआइए प्रतिवेदनमा उल्लेख छ । साथै जोखिम न्यूनीकरणका लागि १ बराबर २५ रूख गरेर १० हजार रूख रोपिने पनि प्रतिवेदन बताउँछ । यस हिसाबले कम्तीमा ४ सय रूख काटिनेछ । हालसम्म नै त्यस क्षेत्रका कैयौं रूख काटिसकिएको छ ।
जैविक वातावरणमा पुग्ने क्षति न्यूनीकरण गर्न बन्दरगाहकै छेउ बागमती किनारमा करिब ९ सय मिटर लम्बाइको ‘मर्निङ वाक गर्न योग्य मधुरम पार्क’ निर्माण गर्ने योजना पनि प्रतिवेदनमा उल्लेख छ । ध्वनि र वायु प्रदूषण गर्ने बन्दरगाहको किनारमा मधुरम पार्क बनाउने यो योजनाजस्तै इआइए प्रतिवेदनमा विरोधाभाषी र हास्यास्पद कुराहरू प्रशस्तै भेटिन्छन् ।
रेल र फास्ट ट्र्याकको काल्पनिक चर्चा चलाइए पनि सुक्खा बन्दरगाहले तत्काल प्रयोग गर्ने बाटो भने अहिले भएकै सडक हुन् । के ती सडक ठूला लरी, कन्टेनर र ट्रकको भार थाम्न सक्ने गरी बलिया र सुविधायुक्त छन् त ?
विज्ञहरूका अनुसार सुक्खा बन्दरगाहले परिकल्पना गरेको गाडीहरूको आवतजावत आफैंमा एक संकट हुनेछ । सडकविज्ञ आशिष गजुरेलका अनुसार उपत्यकाका सडक ठूला सवारीसाधनका लागि डिजाइन गरिएकै होइनन् । उनी भन्छन्, ‘साना सवारी चलाउने लक्ष्य गरेर बनाइएका सडकमा ठूला सवारी सञ्चालन गर्दा सडकको आयु स्वतः छोटिन्छ ।’
कमसल गुणस्तरका कारण उपत्यकाभित्रका सडक अहिल्यै पनि खाल्डैखाल्डाले भरिएका छन् । ‘पानी परे हिलो, घाम लागे धुलो’को कहर उपत्यकावासीले दैनिक बेहोरिरहेका छन् । बन्दरगाहलाई लक्षित गरेर आवतजावत गर्ने ठूला सवारीसाधनले प्रयोग गर्ने सडक पनि तिनै हुन् । सुक्खा बन्दरगाह परियोजनाको नक्साले पनि पहुँचमार्ग (एप्रोच रोड)का रूपमा बल्खु–चोभार सडकलाई नै पहिचान गरेको हुनाले कुन बाटो भएर सवारी ओहोरदोहोर गर्छन् अनुमान गर्न सकिन्छ ।
ठूला सवारीको चापले सडक व्यवस्थापनमा थप चुनौती सिर्जना हुने निश्चित छ । सहरी क्षेत्रमा ठूला सवारीसाधन गुड्नु ट्राफिक व्यवस्थापनमा अर्को चुनौती हुने विज्ञहरूको ठहर छ । यसले सडक दुर्घटनामा उल्लेख्य वृद्धि गर्ने पनि देखिन्छ । अहिले पनि उपत्यकाका सडकमा दुर्घटनाको प्रमुख कारक टिपर रहेको छ ।
सडकविज्ञ गजुरेल भन्छन्, ‘ठूला सवारीका आफ्नै मेकानिकल समस्या पनि हुन्छन् । यस्ता सवारीसाधनले सहरी सडकमा दुर्घटना बढाउने सम्भावना बढी हुन्छ । किनभने सहरमा साना सवारी र मानिसको आवतजावत अत्यधिक हुन्छ । त्यसैले पनि सहरी सडकमा ठूला सवारीसाधन उपयुक्त मानिँदैन ।’
गजुरेलका अनुसार काठमाडौं उपत्यकाको भूबनोटले पनि ठूला सवारी साधनको अत्यधिक चाप धान्न सक्दैन । ‘ट्रक र कन्टेनरजस्ता सवारीसाधनको तौल भारी र आकार ठूलो हुन्छ,’ गजुरेल अगाडि भन्छन, ’हाम्रा सडकले त्यो तौल धान्न सक्छन् र ? काठमाडौंको भूबनोटले त्यस्ता सवारी थेग्नै नसक्ने तथ्य प्रस्ट भइसकेको छ ।’
ठूला सवारीको चाप बढेसँगै सडक पनि छिटो बिग्रने हुन्छ । त्यस्ता सवारी चलाउनकै लागि सडक विस्तार गर्नुपर्ने हुन्छ । गजुरेल भन्छन्, ‘उपत्यकाको घना बस्तीका कारण सडक विस्तारमा समस्या देखिएको तथ्य भुलेर ठूला सवारीसाधनका लागि यही सडक प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।’
अहिले कागजमा मात्र रहेको बाहिरी चक्रपथको बाटो हुँदै भारत र चीनबाट आउने ट्रक बन्दरगाह भित्र्याउने योजना पनि सरकारको छ । तर बाहिरी चक्रपथमा समेत मानव बस्ती बाक्लो भइसकेको उल्लेख गर्दै पूर्वाधारविज्ञ थापा भन्छन्, ‘बाहिरी चक्रपथबाट ट्रक र कन्टेनर भित्र्याउने कुरा छ । त्यसपछि फेरि ट्रकमै सामान राखेर उपत्यकामा छिराउने कुरा छ । यदि यसो हो भने आसपासका क्षेत्रमा अत्यधिक सवारी चाप बढ्छ ।’
थापाकै तर्कमा सहमत हुँदै सडकविज्ञ गजुरेल थप्छन्, ‘बाहिरी चक्रपथ पनि उपत्यकाको ट्राफिक व्यवस्थापनकै लागि निर्माण गर्ने भनिएको छ । तर, बाहिरी चक्रपथमा ठूला सवारी गुडाउँदा उपत्यकाभित्रको सवारी चाप झन बढ्छ ।’
चाेभारकाे चासाे शृङ्खलाकाे पहिलाे स्टाेरी:
चाेभारकाे चासाे शृङ्खलाकाे दाेस्राे स्टाेरी:
चाेभारकाे चासाे शृङ्खलाकाे तेस्राे स्टाेरी:
चाेभारकाे चासाे शृङ्खलाकाे चाैथाे स्टाेरी:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।