नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिनु संविधानविपरीत : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले सरकारले संविधानमा उल्लेखित कानुनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै उनले यो संविधानविपरीत भएको दाबी गरे । 

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको बताए । नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने उनको भनाइ छ । 

अनुहारका आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको उनको आरोप छ । उनले भने, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनुहुँदैन ।’ 

नेता रावलले नेपालले आफ्ना सिमानामा नियमन गर्न आवश्यक रहेको बताउँदै उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए । 

नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताए । सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाउँदै उनले कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदासमेत सरकार मौन रहेको बताए । 

उनले चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्का अहिले चीन भ्रमणमा रहेको भन्दै नेपालसँगको सीमा विवादका बारेमा छलफल गरेर वास्तविकता जनतालाई जानकारी गराउनुपर्ने उनले माग गरे । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया