लुम्बिनीमा कर्मचारीलाई निकालेर छोरा, ज्वाइँ र सालालाई नियुक्ति

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नुपरेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निस्कासन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । 

हुनत रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्कासनको विवाद नभएको होइन, तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयभीत बनेका छन् । 

नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन । करारका कर्मचारीलाई विनाकुनै कारण निकाल्ने, कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित हुन पुगेको उपप्रमुख कल्पना हरिजनले बताइन् । 

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका छन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको भने पछि र प्रमुख प्रशासकीय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन् । 

कार्यपालिकामा निर्णय  नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

यति मात्र होइन, वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धु्र विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाइँलाई सहायक सब इन्जिनियर, त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएको उपाध्यक्ष हरिजनले आरोप लगाइन् । 



‘हाम्रो माग सबै कुरा कार्यपालिका बोर्डमा आएर प्रस्ताव पेस भएर जानुपर्छ । प्रक्रियागत रुपमा दक्ष कर्मचारी नियुक्त हुनुपर्छ, पुराना कर्मचारीलाई विनाकारण स्पष्टीकारणविना निकाल्न नमिल्ने उनले भनिन् । नयाँ नियुक्तिमा मेरो आपत्ति छैन, तर कम्प्युटर खोल्न नजान्नेलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेर नगरपालिकाको विकास कसरी होला,’ उनले प्रश्न गरिन् । 

साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातिमा कार्यालय खोलेर गलत निर्णय एकलौटी रुपमा गर्दै आएको आरोप लागेको छ । साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफूअनुकूल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् । 



छलफल भइसकेका विभिनन जिम्मेवार शाखाका सिलिङ बजेटलाई नै रातो किताबमा छाप्नु पहिलै नै घटाएर आफूअनुकुल शीर्षकमा ल्याएको उपाध्यक्ष तथा कर्मचारीको आरोप छ । नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई विनाजानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्। कार्यपालिका बैठकको निर्णयविना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ । 

नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । ‘हामीलाई काम गर्न सहज वातावरण नभएपछि हामी सबै शाखाका कर्मचारीले पनि ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।
 
वडामा सचिव नभएका कारण काम प्रभावित नहोस् भन्नका लागि सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले प्रतिक्रिया दिए । ‘भएकै जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि यो निर्णय गरेको हो, यो आवश्यकताअनुसार भएको छ, कुनै प्रतिशोधले होइन,’ उनले भने । विवादका विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख सजरुद्दिन मुसलमान बोल्न चाहेनन् । 

जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना हुँदा यसको प्रत्यक्ष मारमा नगरवासी परेका छन् । 

  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १९:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया