बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको उपमेयर कमल सिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाइ छ ।
‘योजनाको अधिकतम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिङ्ग सेन्टर जे बनाए पनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन् । त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरूलाई दिँदा काम भरपर्दो हुन्छ । यसका साथै महिला इमान्दारीताका साथ काम गर्छन्,’ उनले भने ।
उपभोक्ता समिति गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । नगरपालिका भित्र सञ्चालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढङ्गले सम्पन्न गर्न पहल गर्ने उनले बताए ।
चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।