भक्तपुरमा एक दिन अगावै मनाइयो जनैपूर्णिमा

भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ । 

तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको थियो । आज जनैपूर्णिमा मनाइएको छ भने भोलि गाईजात्रा मनाउने जनाएको हो । 

भक्तपुरमा आजै जनै लगाउने, रक्षा बन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाउने छ । आज बिहानैदेखि पुरोहितसँग रक्षा बन्धन र नयाँ जनाइ लगाउने परम्परा छ । जनैपूर्णिमाको दिन रक्षा बाँध्दा नकारात्मक तत्वबाट सुरक्षा प्रदान हुने विश्वास छ । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रूपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १२:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया