दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताको क्यारेक्टरले धेरै सिकायो

दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घर मुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन सो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् । 

थिएटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । जुम्लामा ४५ दिनको हाराहारीमा छायाङ्कन भए पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन् । उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो । 

सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसीपछि नेपाली भाषा जानेकी दियाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रशंसायोग्य छ नै, साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ । किनकि उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । उनी आफ्नो उमेरभन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन् । 

श्रीमान् नभए पनि छोरालाई शिक्षक बनाउन सङ्घर्ष गरेकी महिला हुन् सीता । आफ्नो परिवारको निर्णय आफैँले लिनुपर्ने, घर मुलीको दायित्व निर्वाह गर्नुपर्ने सीताले जुम्लाको द्वन्द्वपछि श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन् । उनी सक्षम छिन्, तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन । त्यसैले उनी श्रीमानको सपनालाई पूरा गर्न र छोरा शिक्षक बनेको हेर्न संघर्षरत छिन् । ‘सीतामार्फत दियाले धेरै कुरा सिकेकी छिन् । घर मुलीको दायित्वसँगै समाजसँग गर्ने सङ्घर्ष र त्यो जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ’ उनले भनिन् । 

फिल्ममा अन्तिम समयमा जोडिएकी दियाले आफ्नो क्यारेक्टरको बारेमा स्क्रिप्टमै बुझेकी थिइन् । त्यसलाई जीवन्त बनाउन उनले छायाङ्कनबाहेक दुई साताभन्दा बढी समय जुम्लामा बिताइन् । त्यहाँको स्थानीय महिलाले गर्ने व्यवहार, उनीहरू शारीरिक अवस्था, सङ्घर्ष, हाउभाउलाई एडप्ट गरिन् । फलतः उनले डोको बोक्नेदेखि हलो जोत्नेसम्म गरिन् । उनले आफूलाई जीवन्त बनाउन छायाङ्कन अवधिभरि झन्डै ४५ दिनसम्म शरीरको देखिने भाग हात, खुट्टा, घाँटी सफा गरिनन् । 

उनले आफूलाई जुम्लेली नै बनाइन् । त्यसले उनलाई क्यारेक्टरमा रहन मद्दत गर्‍यो । त्यो समयमा उनको हातखुट्टा, ओठ पनि फुटेको थियो । समय बित्दै गएपछि ती भागमा सुख्खा भएर रगतसम्म आउँथ्यो । त्यसबाट उनलाई रिकभर हुन् अहिलेसम्म समय लागेको छ । केही असर अझैँ बाँकी छन् । ‘सबै कुरा मेकअपमा मात्र डिपेन्ड हुनु हुन्न् भनेर ४५ दिन जति देखिने शरीरको भागलाई सफा गरिन् । किनकि बाहिरी आवरणले मात्र त्यो पात्रमा जीवन भर्न सहज थिएन,’ दियाले भनिन् । 



फिल्मको छायाङ्कनको अवधिमा मेकअप वा अन्य कारणले क्यारेक्टरलाई जीवन्त बनाउन नसकिने भएकाले उनले त्यस्तो गरेकी हुन् । ‘मैले त्यसो गर्दा पेनलाई फिल गर्न पाएँ । छायाङ्कन सकिएको एक वर्षसम्म पनि मेरो खुट्टा फुट्ने, रगत आउने समस्या हुन्थ्यो,’ उनले भनिन् । उनले यस्तो गर्दा क्यारेक्टरमा देखिने स–साना गतिविधिसमेत स्थानीयको झैँ थ्यो । हिँड्दा खुट्टामा आउने समस्या, सुख्खा भाग फुट्ने समस्याले क्यारेक्टरमा जीवन भरेको थियो । 

पहिलो पटक दलनमा काम गर्दा निकै समस्या झेलेकी दिया अहिले भने क्यारेक्टरलाई सजिलै एडप्ट गर्नुका साथै छाड्न पनि सक्छिन् । यद्यपि त्यसका लागि उनले गर्ने मेहनत छँदै छन् । सीताको भूमिका निर्वाह गर्दै गर्दा उनलाई केही निर्देशकले अब आफ्नो उमेरअनुसारको भूमिका नपाउन सक्नेतर्फ सङ्केत पनि नगरेका होइनन् । तर यसलाई उनी सहजै लिन्छिन् । ‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दिया नभई त्यही क्यारेक्टर देखिनुपर्छ । त्यही प्रयास रहन्छ । मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिनँ,’ उनले भनिन् । 



सीताले गर्ने दुःख जुम्लाकी महिलाले सहजै गर्छन् । पर्दामा आफ्नो भूमिका असुहाउँदो नदेखियोस् भनेर नै उनले सक्दो जीवन भर्ने प्रयास गरिन् । उनी जुम्ला पुगेर भाषा मात्र नभई जीवनशैलीमै पस्ने प्रयास गरिन् । उनले डोको बोक्ने महिलाको थाप्लो चुल्ठो बाट्ने तरिका, सुल्पा खाने बानी सिकिन् । उनी डाँडामा पुगेर बारीमा मल छर्ने, हल जोत्ने काम गरिन् । उनलाई सुल्पा खाने बानीले असर पनि गर्‍यो । उनले काठमाडौं फर्किएपछि आफ्नो शारीरिक जाँचसमेत गराइन् । किनकि उनलाई छातीमा केही समस्या आएको थियो । 

‘मैले स्थानीय बनेपछि त्यहाँ हुने हरेक गतिविधि गर्नुपर्ने हुन्छ । जुम्लाकै कसैले फिल्म हेर्दा बाहिरी नलागोस् भनेर सुल्पासमेत तानेकी हुँ,’ उनले भनिन् । त्यसो त उनले सीतालाई जिउने मानसिक रूपमा तयारी गरे पनि शारीरिक रूपमा मेकअपको सहारा लिने सोच बनाएकी थिइन् । तर छायाङ्कन हुनु दुई साता अगाडि नै जुम्ला पुगेपछि उनले मेकअप भन्दा पनि स्थानीय कै जीवनशैली अपाउने निश्चय गरिन् । फलतः मेकअपसँगै उनमा देखिएको जीवन्त अभिनय उनकै मेहनतको प्रतिफल हो । 

दिया आफ्नो काममा इमानदारिता देखाउन कन्जुस्याइँ गर्दिनन् । यसलाई दर्शकले कसरी लिन्छन् भन्ने सोच्नेभन्दा पनि आफ्नो भूमिकालाई जीवन्त बनाउनेतर्फ उनको बढी समय जान्छ । उनले आउने प्रतिक्रियाले हौसला मिल्ने भए पनि आफ्नो काम प्रतिको इमानदारिताकै रूपमा मात्र यसलाई लिन्छिन् । ‘मैले आफूले पाएको भूमिकालाई जीवन्त बनाउन गर्ने मेहनत इमानदारिताका साथ गर्नुपर्छ । त्यसलाई दर्शकले नोटिस गरिदिनु भएमा सुनमा सुगन्ध हुन्छ । नत्र आउने प्रतिक्रियाका आधारमा एउटा कलाकारले अभिनय गर्नु हुन्न । हामीले आफ्नो तर्फबाट इमानदारिताका साथ काम गर्ने हो,’ दियाले भनिन् । 

महेन्द्र अधिकारी जस्ता निर्माताले मौलिक कथालाई मौलिक तरिकाले ल्याउन गरेको आँटको पनि उनी तारिफ गर्छिन् । दिनेश राउतको निर्देशकीय शैलीले पनि उनलाई काम गर्न सहज भयो । फिल्ममा दिया र प्रदीपसँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात् देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी १० भदौदेखि प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । 

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १३:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया