अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्यौलतामा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को बारेमा निर्णय गर्न कमिटि गठन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले कमिटि गठन गरेको हो ।
बैठकले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा कमिटि गठन गरिएको हाे ।
कमिटीको सदस्यमा एन्फा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी र सदस्य टिका लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।
पछिल्लो समय`ए ´डिभिजनका असन्तुष्ट क्लब र फ्रेन्चाइज फुटबल एनएसएलको विवाद टुङ्गिएकाे छैन ।
'ए' डिभिजन लिगका ४ क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) ले एनएसएलसँगको सम्झौता रद्दका लागि एन्फासँग माग गरेका थिए। एन्फाले सम्झौता रद्दका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
अघिल्लो कार्यसमितिले एनएसएल आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीलाई २५ भदौ देखि ५ कात्तिकसम्म दोस्रो संस्करण आयोजनाको स्वीकृती दिएको थियो ।
यस्तै, बैठकले उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पदपूर्ति समिति गठन गरेको छ।
समितिको सदस्यहरुमा अनिल मल्ल र मनिष जोशी छन् ।
बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २१ भदाै देखि ३ असाेजसम्म हुने महिला साफ च्याम्पियनसिपकाे टिकट दर पनि निर्धारण गरेकाे छ ।
साफ च्याम्पियनसिपका लागि टिकट मुल्य साधारण प्याराफिटतर्फ ३०० र भिआईपी प्याराफिटतर्फ ५०० ताेकिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।