शिक्षक भट्टराईको ‘साइनोको अभाव’ झ्याउरे गीत सार्वजनिक
फरकधार / २६ साउन, २०७९

रत्न मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराई र शान्ति श्री परियारको स्वरमा रहेको ‘साइनोको अभाव’ गीत सार्वजनिक भएको छ । पश्चिम नेपालको मौलिक झ्याउरे लयमा गाइएको गीत बुधबार सार्वजनिक भएको हो । 



मौलिक गीत, संगीतलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै लगानीमा गीत बनाइएको भट्टराई बताउँछन् । मौलिक गीत, संगीत लोप हुँदै गएको अवस्थामा झ्याउरे गीतका माध्यमबाट गीत, संगीतको प्रवर्द्धन गर्न खोजिएको भट्टराईको तर्क छ । 

गीतको भिडियोमा कलाकारलाई मौलिक नेपाली पोसाकमा सजिएको देख्न सकिन्छ । गीतको अभिनयमा महिला मखमल र भेलभेटको चोलो, घलेक, लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएका छन् ।  



गुरुङ समुदायले हातमा चुरा, काँक्रे बियाँ औँठी, गलामा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवं ठोकाकण्ठ, शिरबन्दी, लाहुरे फुली, ढुंग्री लगाउने चलन छ । गीतमा गुरुङ समुदायको भेषभुषालाई प्रदर्शन गर्न खोजिएको छ । 



पेशाले शिक्षक रहेका भट्टराई पछिल्लो समय कलाकारिता क्षेत्रमा पनि सक्रिय देखिएका छन् । शिक्षक भएर किन कलाकारिता रोज्नु भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षक सिर्जनशील हुनुपर्छ । बालबालिकाका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न शिक्षकले हरेक भुमिका निर्वाह गर्न सक्नु पर्दछ भन्ने देखाउनका लागि यो प्रयास गरेका हौँ । साथै कला, भाषा, संस्कृति संरक्षण गर्नुपर्छ भन्ने पनि हो । हामीले गीत गाएर पैसा कमाउने सोचेका छैनौँ ।’

लगत्तै चेलीबेटी बेचबिखनसम्बन्धी जनजागरण फैलाउने गीत सिर्जना गर्ने तयारीसमेत रहेको भट्टराईले जानकारी दिए । गीतमा नवराज कौड्यालले लय भरेका छन् । संगीत कञ्चन परियारको रहेको छ । काठमाडौं आसपासका ग्रामीण बस्तीमा छायांकन गरिएको गीतले दर्शकको प्रशंसा पाइरहेको छ ।

भिडियो

  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १६:५६:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया