मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने विषयमा अमेरिकी सिनेटमा जुटेन सहमति

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर बजेट पारित गर्न अमेरिकी कंग्रेससमक्ष अनुरोध गरेका छन् । तर, राष्ट्रपतिको प्रस्तावलाई डेमोक्र्याट पार्टीले अस्वीकार गरेसँगै विवाद जारी छ ।

अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी संघीय कार्यालयहरुको आंशिक बन्द खुलाउन असफल भएको छ । 

रिपब्लिकन पार्टीको झिनो बहुमत रहेको सिनेटमा समेत सहमति नजुटेपछि राष्ट्रपति ट्रम्पले सीमा सुरक्षालाई ध्यान दिएर पुनः ‘उपयुक्त’ प्रस्ताव ल्याउने संकेत गरेका छन् । 

कंग्रेस र राष्ट्रपतिको यस लडाइँका कारण हजारौँ संघीय कर्मचारीले दोस्रो तलब भुक्तानी प्राप्त गर्ने सम्भावना पनि टर्न लागेको छ । यसअघि नै आठ लाखभन्दा बढी संघीय कर्मचारीलाई बेतलबी बिदा दिइएको छ भने काम गरिरहेकाहरुले तलब पाउन सकेका छैनन् । 

सीमामा पर्खाल निर्माण गरेरै छाड्ने भनी प्रतिष्ठाको विषय बनाएका राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्र्याट पार्टीका कारण आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरुले दिनहुँ जुलुस निकाल्न थालेका छन् । 

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेल र डेमोक्र्याट नेता चक सुमरले राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रपति अझै पनि पर्खाल निर्माणका लागि बजेट नभई नहुने अडानमा यथावत् रहेको जानकारी दिए । राष्ट्रपति ट्रम्पले दुवै नेतासँगको छलफलमा भने, ‘यस मुलुकमा पर्खालको विकल्पै छैन ।’ 



एक सय सदस्यीय अमेरिकी सिनेटबाट बजेट पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्दछ । विपक्षी डेमोक्र्याट पार्टीको समर्थनबेगर यस्तो बजेट पारित हुने सम्भावना छैन । उता, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि रिपब्लिकन पार्टी अल्पमतमा छ । 



  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १५:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया