नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ ले ३४ खेलमा सहभागिता जनाउने

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश-१ ले ३४ वटा खेलमा सहभागिता जनाउने भएको छ । बिहीबार प्रदेश-१ खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास बोर्डले गण्डकी प्रदेशको पोखरामा आगामी २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश-१ बाट ६९४ खेलाडीसहित ७८२ जनाको सहभागिता हुने जानकारी दिएको छ । 

बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त्त गरे । उनले २-७ भदौसम्म जिल्ला छनोट तथा १०-१९ भदौसम्म प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा ४०५ वटा इभेन्टसबाट ६९४ जना खेलाडी छनोट गर्ने तालिका सार्वजनिक गरिएको बताए । 

सदस्य सचिव वाग्लेले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि  १० करोड रुपैयाँ बजेट आवश्यक भएकोमा प्रदेश सरकारबाट अहिले ५० लाख तथा राष्ट्रिय खेलकूद परिषदबाट ४९ लाख प्राप्त भएको जानकारीसमेत दिए । 

प्रतियोगितामा सहभागिताका लागि प्रदेशका १४ जिल्लामा छनोट कार्यक्रम गर्ने र  खेलाडीबाट खेलमा उत्कृष्ट सफलता प्राप्त गर्नका लागि वैज्ञानिक ढंगले बन्द प्रशिक्षणको व्यवस्था गरिएको बार्डकी सदस्य रोशनी राईले बताइन् । 

उनका अनुसार प्रतियोगितामा प्रदेशका खेलाडीले २७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् भने उक्त खेलकुदमा प्रदेश-१ उत्कृष्ट बन्ने दाबी गरिन् । 
प्रदेश-१ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण, २० रजत र ५९ वटा कास्यसहित सातौं स्थान प्राप्त गरेको थियो ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १९:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया