काराकास– भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहँदा सेनाले मदुरोलाई समर्थन दिएको छ ।
देशभर भड्किएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्त राज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेका छन् । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कूटनीतिज्ञहरूलाई शनिबारभित्र देश छाड्न आदेश दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई ‘अवैधानिक’ भनी घोषणा गरेका छन् । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बियासमेतका केही दक्षिण अमिरिकी मुलुकले समर्थन गरेका छन् ।
तर, भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ । तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रूपमा अत्यन्त कमजोर स्थितिमा छ ।
मदुरो गत वर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी भएका थिए । तर चुनावमा धाँधली भएको जनाउँदै विपक्षी तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।
सेनाको जनरल समेत रहेका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको ‘वैधानिक राष्ट्रपति’ रहेको बताएका छन् । उनले सम्भावित ‘सत्ता विद्रोह’विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताएका छन् । पाड्रिनोको घोषणालगत्तै अरू आठजना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।
मदुरोका समर्थकहरू न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको ‘वैधानिक अख्तियारी’प्रति समर्थन जनाएको छ । अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुएइदोको भविष्य पनि अन्योलमा पर्न थालेको अनुमान गरिएको छ ।
तर, युरेसिया समूहमा आबद्ध विश्लेषकहरूले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रूपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सकेका छैनन् । उनीहरूले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।
वासिङटनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको संकटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गरेका छन् । पोम्पेओले भने, ‘बहसको समय घर्किसक्यो, पूर्वराष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।’ प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी छ, उनले भने ।
निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै विकल्प खुला रहेको’ प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना पनि छ ।
भेनेजुएलामा उत्पादित एक तिहाइ इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरूले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्रेट पार्टीबाट खासै समर्थन प्राप्त गरेका छैनन् । डेमोक्रेटिक पार्टीका एकजना वरिष्ठ सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भने, ‘हामीले विगतका पाठबाट सिक्नुपर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ता विद्रोहलाई समर्थन गर्नु हुँदैन । विगतमा हामीले चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लिकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै अघिल्तिर छ ।’ उनले भेनेजुएलाको सत्ताले निहत्था प्रदर्शनकारीमाथि गरेको निर्मम दमनको भत्र्सना गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाएका छन् । भेनेजुएलामा उत्पन्न संकट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताएका छन् । भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइरहेको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएको छ । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका वामपन्थी सरकारहरूले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।