मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी गर्न कमल थापाको निर्देशन

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्ने उद्देश्यसहित ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ । आगामी फागुन १५ देखि ३० गतेसम्म हुन लागेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को तयारी तीव्र रूपमा भइरहेको राप्रपाले जनाएको छ । उक्त यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपाले विभिन्न २१ वटा समिति गठन गरेको छ ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं स्वाभिमान यात्रा मूल आयोजक समितिका संयोजक कमल थापाको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले आगामी माघ १५ गतेभित्र सबै समितिको बैठक सम्पन्न गरी मूल आयोजक समितिले दिएको कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । बैठकमा अध्यक्ष कमल थापाले यात्रा तयारीको लगि गठन भएका सबै समितिलाई यात्रालाई भव्य बनाउन  आग्रह गरे । 

आउँदो माघ २० र २१ गते काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो तयारी प्रतिवेदन पेश गर्न २१ वटै समितिलाई बैठकले निर्देश गरेको छ । २१ वटै समितिका संयोजक तथा सदस्यसचिवको सहभागितामा सम्पन्न बैठकमा मूल आयोजक समितिका सदस्यसचिव सुशील श्रेष्ठले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ तयारीका लागि गठित विभिन्न समितिले गर्ने कामबारे लिखित विवरण प्रस्तुत गरेका थिए । 

स्वाभिमान यात्रा तयारीका लागि यसअघि १८ वटा समिति गठन भएका थिए भने शुक्रबार थप ३ वटा समिति गठन भएका छन् । शुक्रबार गठन भएका समितिमा केन्द्रीय सदस्य भुवन पाठकको संयोजकत्वमा समान विचारधारा भएका संघसंस्था समन्वय समिति, केन्द्रीय सदस्य एवं मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको संयोजकत्वमा सञ्चारमाध्यम समन्वय समिति तथा केन्द्रीय सदस्य निना भेटवालको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति रहेका छन् ।   





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १६:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया