बलात्कृत महिलाले श्रीमानको समेत साथ नपाएपछि छोराछोरीसहित त्यागिन् प्राण

यही २५ साउनमा बझाङको बुंगल नगरपालिका–९ मा एकै घरका तीनजना मृत भेटिएको खबर सार्वजनिक भयो । एक छोरा, एक छोरी र आमासहित तीनजना घर नजिकै बेडुँको रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

बुंगल–९ रारुका २२ वर्षीया निशा (नाम परिवर्तन), उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा मृत भेटिएका थिए । उनीहरू डेढ सय मिटर पर रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । 

निशाको ६ वर्षअघि मात्रै प्रेम विवाह भएको खुलेको छ । बित्थडचिर गाउँपालिका माइती घर भएकी उनले प्रेम रहेको बताएपछि दुवै परिवारको मन्जुरीमा विवाह भएको थियो । विवाहपछि उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पिथौरागढ जाने गर्दथे ।

केही महिना पिथौरागढमा काम गरेर बेलाबखतमा घर फर्किने गर्थे । घरमा आएर खेतीपाती लगाएर फेरि भारत नै फर्केर उतैको श्रमपसिनाले उनले परिवार पालेका थिए ।

अहिले उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । 

निशामाथि भएको थियो बलात्कार   



दुई छोरा छोरीसहित झुन्डिएको अवस्थामा फेला परेकी निशाको यसअघि बलात्कृत भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनी गत वर्ष साउन १९ गते बलात्कृत भएकी थिइन् । 

श्रीमान् घरमा नभएको मौका छोपी स्थानीय झलक नेपालीले मदिरा पिएर उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीमाथि बलात्कार गर्ने नेपाली अहिले पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । बलात्कारको उक्त घटना थाहा पाएपछि स्थानीयले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । 



बलात्कारपछि श्रीमान्-श्रीमतीबीच बिग्रँदै गएको सम्बन्ध 

निशा बलात्कारको शिकार हुन पुगेपछि श्रीमानसँगको सम्बन्ध खटपट हुन थाल्यो । घटनापछि मानसिक रूपमा विक्षिप्त भएकी उनलाई सहयोग गर्नुको साटो हेपाहा दृष्टिले हेर्न थालियो । ‘के को सम्झाइबुझाइ हुनु उल्टै उनी परिवारको निसानामा पर्न थालिन्,’ निशाका एक छिमेकीले भने, ‘प्रेम विवाह गरेका उनीहरूको सम्बन्धमा यस्तो समस्या आउला भन्ने कसैले सोचेका सम्म थिएनन् । तर, बलात्कारपछि परिवारको मिलन क्षण भरमै सकियो ।’ 

सोही विषयलाई लिएर परिवारमा श्रीमान्–श्रीमतीबीच प्रायः झगडा भइरहने रारुका स्थानीय बासिन्दाले बताउने गरेका छन् । छोराछोरीसहित निशा मृत भेटिएको अघिल्लो दिन मात्रै उनका श्रीमान् भारतको पिथौरागढबाट घर फर्किएका थिए ।

उनले एक हप्ताअघि नै आफू घर आउन लागेको निशालाई जानकारी गराएको खुलेको छ । प्रहरीका अनुसार निशाका श्रीमानले बाटोमा मदिरा सेवन गरेर राति ढिलो घर पुगेपछि श्रीमतीसँग चर्काचर्कीसमेत गरेका थिए ।

झगडामा श्रीमानले निशाको चरित्रमाथि प्रश्न उठाएपछि विवाद बढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रमेश अवस्थीले बताए । विवाद भएको स्वीकार गर्दै उनका श्रीमानले आफू खाना खाएर सुतेको र बिहान घरमा छोराछोरी र श्रीमती नदेखेपछि खोज्दै जाँदा सबै मृत भेटिएको प्रहरीलाई बयान दिएका छन् ।  

उक्त घटनामा अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ । मृतक तीनै जनाको बिहीबार पोस्टमार्टम गरेर शवलाई जिल्ला अस्पतालमा राखिएको छ । मृतक निशाका दाइहरू भारतबाट आइरहेको र उनीहरूको आग्रहमा शवको अन्त्येष्टी रोकिएको प्रहरीले जनाएको छ ।  

अहिले निशाका काका गगन विकले उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् । अनुसन्धानमा खटेका प्रहरी निरीक्षक रमेश अवस्थी भने, ‘प्रमाणहरू हेर्दैछौँ, अहिले हामीले अनुसन्धान गरिरहेका छौँ । थप अनुसन्धानको क्रममा खुल्दै जाला ।’ 

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार ९:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया