बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियम विपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् ।

जिल्लामा एक मात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठालापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्छन् । 

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्यधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । 

यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन विष्टले बताए । उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजेल र पेट्रोल राखिएको छ । अति प्रज्वलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटेल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री हुन्छ ।’

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्यधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएका छन् । पेट्रोलको मूल्य अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएका छन् । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरू सहित अन्य उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्दै आएका छन् । 

बैतडीको सतबाँजमा रहेको एक मात्रै भण्डारी आयल स्टोरले भने डिजेल मात्रै बेच्ने गरेको छ ।  उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।



जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु विष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक–पटक जिल्लादेखि केन्द्र सम्म धाएका विष्टले अनुमति नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर, जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् । 

जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका विषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ । जिल्लामा सञ्चालित भण्डारी आयल स्टोरलाई पेट्रोलको कारोबारका लागि त्रिपक्षीय सहमति गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने, ‘भण्डारी आयल स्टोर र नेपाल आयल निगमसँग हामीले संयुक्त छलफल गर्दा स्टोरका तर्फबाट वातावरणीय प्रभावका कारण घाटा हुने कुरा आएपछि निगमले पेट्रोल मूल्यमा ०.२४ प्रतिशत घाटा व्यहोर्ने बतायो ।



यो निर्णयसँगै उक्त आयल स्टोरले पेट्रोलको कारोबार गरेमा समस्या समाधान हुन्छ ।’ सतबाँजस्थित आयल स्टोरले चिसो ठाउँमा सञ्चालन गरेकाले पेट्रोलमा घाटा हुने बताउँदै आएका थिए । बजारहरूमा अवैध रुपले पेट्रोलियम पदार्थको कारोबार भइरहेको विषयमा भने केही व्यापारीसँग आयल निगमको अस्थायी  अनुमति रहेको भारती बताउँछन् । 

उनले भने, ‘बजार अनुगमनका क्रममा हामीले प्रश्न गर्दा एक/दुई जनासँग पम्पमा पेट्रोल नआएसम्मका लागि कारोबार गर्न पाउने कागज छ । तर, पम्पले पेट्रोल ल्याएमा उनीहरूको कारोबार बन्द हुन्छ । अन्य व्यापारीहरू आफ्नै निजी प्रयोगका लागि पेट्रोलियम पदार्थ ल्याएर राखेको बताउँछन् ।’

अहिले जिल्लामा रहेको आयल स्टोरलाई सुचारु गर्नका लागि पहल गर्ने भारतीको भनाइ छ । ‘५० लाख धरौटी राखेर अर्काले खोल्न सक्दैन । उसैले कारोबार गर्ने भएको छ । उसले लगातार तीन वर्षसम्म ल्याएको छैन । अब नल्याएमा बन्द हुन्छ र अरूले आयल स्टोर खोल्छन्,’ भारतीले भने ।

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १४:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया