नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता-कार्यकर्तादेखि असन्तुष्ट देखिएका छन् । नेताहरूले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति देखिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रमा बोल्दै अध्यक्ष दाहालले पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरि हराउने हो भन्नेमा तछाडमछाड र मारामार गरिरहेको उनको भनाइ छ ।
तराई मधेसबाट पार्टीमा हजारौं नेता-कार्यकर्ता पार्टी प्रवेश गर्ने लहर चलेको पनि सुनाए । तर, नेताहरू एकले अर्काको खुट्टा र कसरी हराउने भन्नेमा तछाडमछाड गरेका कारण मिलाउन समस्या भएको बताए । उनले नेताहरूलाई छानबिन गर्न समिति बनाउनुपर्ने अवस्था आएको समेत बताए ।
'तराई मधेशमा यो बीचमा हजारौंको अरू पार्टीका बुद्धिजीविहरू, नेताहरू पार्टीमा प्रवेश गरेका छन् । हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरि हराउने हो भन्नेमा तछाडमछाड र मारामार । अहिले हामीले अब छानबिन समिति बनाउनुपर्ने । नेताहरूको लागि छानबिन समिति, जनताका लागि होइन । बनाउनुपर्ने अवस्था पैदा भएको छ' उनले भने ।
उनले पार्टी एक ढिक्का बनाएर लिएर जाने सके जनता पार्टीप्रति जुरुक्कै उठ्ने स्थिति रहेको जिकिर गरे । उनले अध्यक्षको हैसियतले पार्टीभित्रका नेताहरूलाई कसरी मिलाउने भन्ने मुख्य चुनौती पैदा भएको बताए ।
'नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु मैले । म अध्यक्ष भएको नाताले नेताहरूलाई के गरी मिलाउने भन्ने आजको मेरो चुनौती भएको मैले देख्छु । नेताहरू मात्रै एकढिक्का हुने हो र यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन' उनले भने ।
अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई एकताबद्ध गरि जनमतको आधारमा दृढताको साथ अगाडि बढ्न सके माओवादीले फेरि देशको नेतृत्व गर्ने सम्भावना प्रष्ट रहेको बताए । उनले संविधानको, गणतन्त्र र राष्ट्रियताको रक्षा गर्न बनेको ५ दलीय गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।