फिनल्याण्डमा रहेकी मन्त्री भुसाल भन्छिन्– नेपालमै सुखी जीवन बिताउन सकिन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन् । रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्ने उनले बताइन् ।

फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँ बसेर तपाईंहरूले कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।’ 

उनले अब नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास भएको बताइन् । ‘सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधान मै व्यवस्था गरेका छौँ । यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस्,’ उनले भनिन् ।

विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन् । 

भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन् । नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘फिनल्याण्डमा बस्ने नेपाली एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ । विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन ।’

उनले कन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाइन् ।  





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ८:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया