मतदाता जहाँ छन् त्यहीँबाट मतदान गर्ने व्यवस्था गर्नुपर्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाव जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल युवा परिषदले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा उनले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाइ छ । 

उनले सबै नेपाली मतदाताले जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सैद्धान्तिक विषयमा कुरा मिले पनि जटिलता भएको ओलीको भनाइ छ  

‘छिमेकी दाजुभाइ छिमेकी दिदीबहिनाहरूलाई मारेर भोट जित्न खोज्ने प्रवृत्ति भएका ठाउँमा, यहाँ त्यस्तो धाँधली हुन्छ । विभिन्न देशमा विभिन्न प्रकारका भोटिङ सिस्टम छन् । त्यसमा गम्भीर कोइसनहरू उठेको छ,’ ओलीले भने, ‘हामी कोइसन नउठ्ने गरी सबै नेपाली नागरिकहरू मतदाताहरू जहाँ छन् उनीहरूले मतदान गर्न पाउने तर त्यो मतदान फेक भोटिङ नहोस् ।’

फरक प्रशंगमा ओलीले बजेट निर्माणका बेला व्यापारीले करका दर परिवर्तन गर्दा आफ्नो मन पालेको बताए । सरकारबाट जनताले केही लाभ लिन नपाएको तर नपाउनुपर्नेले फाइदा लिएको उनको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको ओलीले बताए । सरकारमा अलच्छिन पसेको ओलीको टिप्पणी छ ।

‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको सुन्नुभयो ? यता पनि पैसा छ उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ धरहरा बन्छ पैसा छ रानीपोखरी बन्छ पैसा छ दरबार हाइस्कुल बन्छ पैसा छ आर्मीको हेडक्वार्टर बन्छ पैसा छ । आर्मीको युनिभर्सिटी बन्छ पैसा छ,’ ओलीले भने, ‘३ सय ९६ वटा हस्पिटल मैले एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुट्याए, निर्माणकार्य सुरु भयो पैसा छ । पैसा कहाँ जान्छ, अलच्छिना कहाँबाट पस्यो? चिन्ता त्यो हो । पैसा कहाँ गयो? कसरी हरायो त्यत्रो पैसा?’ 

उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै ओलीले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।  



‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पती सरकारको नाममा गरिदिएका छौं । तपाईँहरूलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उपचार गराइदिनुभयो भने छुट्टै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन,’ उनले भने । 

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेती किसानी गरेर बसिरहेको पनि बताए । ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रुपमा चित्रित गर्नु गलत भएको टिप्पणी पनि गरे ।  



  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ११:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया