\
जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धर्मपुत्रीको रूपमा घरमा राखेका प्रेमराजा भनिने प्रेमजंग महतले बालिकालाई पटकपटक करणी गरेको घटना बाहिर आएको हो ।
जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथिमाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक करणी गरेका थिए ।
करणी गरेको बाहिर आएपछि घटना ७ लाखको लेनदेनमा मिलापत्र गरिएको छ । स्रोतका अनुसार सामुदायिक प्रहरी केन्द्रमा कार्यरत एक स्थानीय, एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिलालगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको हो ।
मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पस चलाउँदै आएकी छन् ।
महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दबाब दिने गरेको ती बालिकाले बताएकी छन् । महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएका छ ।
विष खाएपछि बान्ता भएको र उनलाई तिनै महतले साबुनपानी खुवाएका थिए । त्यसको केही समयपछि महतले नै बालिकाकी आमालाई छोरी बिरामी भएको बताएका थिए । उनकी आमाले उपचारका लागि घरमा ल्याएकी थिइन् । आमा भन्छिन्, ‘छोरीले धेरै बान्ता गर्दा शंका लागी सोध्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको छोरीले बताई ।’
७ लाख लेनदेनमा मिलापत्र
बालिकामाथि करणी भएपछि प्रहरी र प्रशासनमा उजुरी परेको छैन । करणी गर्ने महतका दाजु सामुदायिक प्रहरी केन्द्रमा कार्यरत छन् । एकजना अधिवक्ता, मानवअधिकार आयोगमा कार्यरत सुरक्षा गार्ड, होटल व्यवसायी एक महिला लगायतका व्यक्तिको रोहवरमा ७ लाखमा मिलापत्र गरिएको छ ।
मिलापत्रमा करणी सम्बन्धी कतै उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । १३ वर्षीया बालिका करण गर्ने महतबाट मिलापत्रका लागि ७ लाख रकम दिइएको एक कागज भेटिएको छ । मिलापत्र गरेको कागजातमा कालीबहादुर भण्डारी (वडा सदस्य) चन्दननाथ नपा ५, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गापा–८ का ईश्वरी आरसी, कागज बनाउन सहयोग गर्ने अधिवक्ता दिलबहादुर महत र चन्दनाथ–७ का महेन्द्रबहादुर महत छन् ।
पीडितका अनुसार जीवन महतले १५ हजार लिएको र अरू सबैले कुरा मिलाएको भन्दै १०/१० हजार लिएका हुन् । बाँकी ६ लाख रुपैयाँ पीडित बालिकाको जुम्लामा रहेको माछापुच्छ्रे बैंकको खातामा जम्मा गरिएको कागजातसमेत फेला परेको छ ।
पीडित बालिका चन्दननाथ नमुना माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । सोही विद्यालयकी शिक्षक बबी केसी भन्छिन्, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’
सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताएकी केसीले बताइन् । घटनापछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भएको थियो । ‘बालिकाकी आमा समेत आइन् । उनलाई मैले नराम्ररी झपारे’, शिक्षक केसीले भनिन्, ‘बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएकी थिए । तर, उनी पैसामा मिलापत्र गरेको खबर सुन्न आएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।