इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एर्लिङ हालान्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन् । प्रिमियर लिगको डेब्यु खेलमा वेस्टह्यामविरुद्ध २–० जित हात पार्दा दुवै गोल हालान्डले गरेका थिए ।
शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ४–० ले हराउँदा भने कडा डिफेन्सको सामना गरेका उनले पहिलो टचकै लागि १८ मिनेटसम्म कुर्नु परेको थियो । यद्यपि प्रशिक्षक ग्वार्डिओला उनको व्यक्तिगत प्रदर्शनलाई लिएर चिन्तित छैनन् ।
बोर्नमाउथ जस्तो डिफेन्सिभ टिमविरुद्ध स्ट्राइकरका रूपमा खेल्नु नै हालान्डका लागि कठिन काम भएको बताउँदै उनले भने, ‘तीन सेन्ट्रल डिफेन्डर र उनीहरूका आगाडि दुई खेलाडी राख्ने डिफेन्सिभ टोलीविरुद्ध स्ट्राइकरका रूपमा खेल्नु संसारको सबैभन्दा कठिन काम हो ।’ तर, हालान्डलाई गोलको अवसर सिर्जना गर्न उनका पछाडि राम्रो खेलाडी रहेको भन्दै ग्वार्डिओलाले यसको पनि समाधान निस्किने बताए ।
घरेलु मैदान, इतिहाद स्टेडियममा भएको खेलमा सिटीले सुरुदेखि नै भ्रमणकारी टोलीलाई दबाबमा राखेको थियो । १९ औं मिनेटमा इल्के गुन्डोगनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३१ औं मिनेटमा केभिन डी ब्रुएननाले करिब मध्य भागबाट एक्लै बल लगेर उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
फिल फोडेनले ३७ औं मिनेटमा गोल गरेपछि सिटी पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो ।
१–४–५ को फर्मेसनमा खेलेको बोर्नमाउथको अधिकांश समय डिफेन्समै बितेको थियो । उसले दोस्रो हाफमा पनि कुनै पनि समय खेलमा फर्किने संकेत देखाउन सकेन । ७९ औं मिनेटमा जेफर्सन लेर्माले आत्मघाती गोल गरेपछि घरेलु टोली ४–० ले विजयी भएको थियो ।
उनले जाओ कान्सेलोको क्रसलाई बर्नाडो सिल्भासम्म पुग्नबाट रोक्ने प्रयास गर्दा आफ्नौ पोस्टमा गोल गर्न पुगेका थिए । यो जितसँगै दुई खेलमा ६ अंक जोडेको साविक विजेता सिटी लिगको शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।